पढ्दै कमाउँदै अभियानतर्फ सरस्वती आधारभूत विद्यालय, विद्यार्थीलाई शुक्रबार धान गोडाइमा सहभागिता

गेरुवा अपडेट
१५ साउन २०८३, शुक्रवार

पुष्कर काफ्ले, जाेधिपुर । गेरूवा गाउँपालिका–४, जोधिपुरस्थित सरस्वती आधारभूत विद्यालयले शिक्षासँगै सीप र श्रमको सम्मान गर्ने उद्देश्यले विद्यार्थीलाई विद्यालय परिसरमा लगाइएको धान गोड्ने कार्यमा सहभागी गराएको छ।

विद्यालय परिसरको करिब ५ कठ्ठा क्षेत्रफलमा लगाइएको धानबालीको नियमित हेरचाहअन्तर्गत शुक्रबार विद्यार्थीहरूले शिक्षकहरूको उपस्थितिमा धान गोड्ने कार्य गरेका हुन्। विद्यालयका अनुसार यो गतिविधि विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषि ज्ञान तथा व्यावहारिक सीप विकास गराउने उद्देश्यले सञ्चालन गरिएको हो।

विद्यालयले निकट भविष्यमै “पढ्दै कमाउँदै” कार्यक्रम औपचारिक रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। उक्त कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै कृषि तथा अन्य व्यावहारिक सीपमा सहभागी गराई आत्मनिर्भर बन्न प्रेरित गरिने विद्यालयको योजना छ।

विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अभ्यास रहेको छ। यसअन्तर्गत विद्यालय सरसफाइ, वृक्षारोपण, बगैँचा व्यवस्थापन, कृषि सम्बन्धी गतिविधि तथा अन्य सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी व्यवहारिक शिक्षा, श्रमको सम्मान र आत्मनिर्भरतर्फ उन्मुख गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको हो।

“विद्यार्थीले सानैदेखि श्रमको महत्व बुझून्, कृषि र वातावरणप्रति जिम्मेवार बनून् भन्ने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गरेका हौँ। अब छिट्टै ‘पढ्दै कमाउँदै’ कार्यक्रम पनि सुरु गर्ने तयारीमा छौँ,” प्रधानाध्यापक पौडेलले बताउनुभयो।

विद्यालयको यो प्रयासले विद्यार्थीमा अनुशासन, जिम्मेवारीबोध, सामूहिक कार्य गर्ने बानी तथा व्यावहारिक ज्ञान अभिवृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीय अभिभावकहरूले पनि विद्यालयको यस्तो अभ्यासलाई सकारात्मक रूपमा लिँदै शिक्षासँगै सीपमूलक गतिविधि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।