विश्व वातावरण दिवसको अवसरमा गेरूवामा बाढी कृत्रिम घटना अभ्यास सम्पन्न
राजिपुर । विश्व वातावरण दिवसको अवसर पारेर गेरूवा गाउँपालिका वडा नं. २ राजिपुरमा बाढीजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्बन्धी कृत्रिम घटना अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ। बि-ग्रुपको आयोजना र गेरूवा गाउँपालिकासँगको समन्वय तथा स्थानीय समुदायको सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बाढीको सम्भावित जोखिम, पूर्वसूचना प्राप्त भएपछि अपनाउनुपर्ने सावधानी, सुरक्षित स्थानमा स्थानान्तरण, खोज तथा उद्धार, प्राथमिक उपचार तथा राहत व्यवस्थापनका विषयमा व्यवहारिक अभ्यास गरिएको थियो। अभ्यासमा स्थानीय बासिन्दा, स्वयंसेवक, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गेरूवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले विपद् आउनुभन्दा अगाडि गरिने तयारीले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने गेरूवा अपडेटलाई बताउनुभयो। उहाँले भन्नुभयो, “बाढी, डुबानजस्ता प्राकृतिक विपद्का घटनाहरूलाई रोक्न नसकिए पनि समयमै तयारी गर्न सकियो भने क्षति धेरै हदसम्म कम गर्न सकिन्छ। यस्ता अभ्यासले समुदायलाई विपद्का बेला कसरी सुरक्षित रहने भन्ने व्यवहारिक ज्ञान प्रदान गर्छ।”
त्यस्तै, गेरूवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारूले समुदायको सहभागिता बिना विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गेरूवा बाढीको जोखिम रहेको क्षेत्र भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्। समुदाय स्वयं सचेत र सक्षम भएमा विपद्का बेला हुने क्षति कम गर्न सकिन्छ। स्थानीय तहले पनि यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्दै जानेछ।”
बि-ग्रुपका प्रतिनिधि बसन्ती चौधरीले जलवायु परिवर्तनका कारण बाढी तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा समुदायको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य समुदायलाई विपद्को सामना गर्न सक्षम बनाउनु हो। कृत्रिम घटना अभ्यासमार्फत वास्तविक विपद्को अवस्थामा कसरी प्रतिक्रिया जनाउने भन्ने सीप विकास गर्न सहयोग पुग्छ।”

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी नायव निरीक्षक राजु श्रेष्ठ, बरघर, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
बि-ग्रुपले प्राक्टिकल एक्सनसँगको साझेदारीमा बर्दियाका गेरूवा गाउँपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिका तथा कैलालीका धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कार्यक्रममार्फत जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, समुदायको उत्थानशीलता अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिइएको छ।

आयोजकका अनुसार यस्ता अभ्यासले समुदायमा विपद् प्रतिकार्य सम्बन्धी ज्ञान र सीप वृद्धि गर्नुका साथै सम्भावित बाढीजन्य जोखिमको समयमा छिटो र प्रभावकारी प्रतिक्रिया जनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ। विश्व वातावरण दिवसको सन्देशसँग जोडिएको उक्त कार्यक्रमले वातावरण संरक्षणसँगै जलवायु परिवर्तनका असर न्यूनीकरणमा सामूहिक प्रयासको आवश्यकता समेत उजागर गरेको छ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस