बाँसगढीमा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न, बाढी डुवान न्यूनीकरणमा टेवा
हुमकुमार चाैधरी, बासँगढी । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ र ६ अन्तर्गत मोतिपुर क्षेत्रमा बाढी डुवानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘कामका लागि नगद’ (Cash for Work) कार्यक्रम सम्पन्न भएको छ।
वर्षायाममा दोहोरिने डुवान समस्यालाई मध्यनजर गर्दै स्थानीय बाटोका नाली सफाइ तथा मर्मत कार्य गरिएको हो। विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण परियोजना (प्रयास–२) अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा ५० जना श्रमिकको सहभागिता रहेको परियोजनाकी फिल्ड सुपरभाइजर कमला रसाइलीले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवार, एकल महिला, श्रमिक महिला र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको थियो। जेठ १९ गतेदेखि सुरु भएको कार्यक्रम ८ दिनसम्म सञ्चालन भई जेठ २६ गते सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम ज्याला दरअनुसार प्रतिदिन ७१५ रुपैयाँ पारिश्रमिक प्रदान गरिएको थियो। साथै, श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै सेफ्टी हेल्मेट, पञ्जा, ग्लोभ्स, हाफ ज्याकेट तथा सेफ्टी बुटको व्यवस्था गरिएको थियो।
प्लान इन्टरनेशनल नेपालको सहयोग, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारी तथा बाँसगढी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमले बाढी डुवान न्यूनीकरणका साथै विपन्न परिवारलाई आर्थिक रूपमा समेत राहत पुगेको जनाइएको छ।
फिल्ड सुपरभाइजर रसाइलीले यस्ता कार्यक्रमले विपद् पूर्वतयारी, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष लालबहादुर क्षेत्री, श्रमिक, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
उक्त परियोजना हाल बर्दिया जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालनमा रहेको बताइएको छ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस