बालविवाह तथा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालय, जोधिपरमा बालविवाह तथा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
गेरुवा गाउँपालिकाको समन्वय तथा इलाका प्रहरी कार्यालय पाताभारको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा सामाजिक विकृति तथा अपराधजन्य गतिविधिप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी सहायक निरीक्षक हर्क भुलले सहजीकरण गर्दै बालविवाह र लागुपदार्थ दुर्व्यसनका कारण समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउनुभएको थियो। उहाँले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो।
त्यसैगरी, लागुपदार्थ सेवन तथा दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा दीर्घकालीन असर पार्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्ता कुलतबाट टाढा रहन आग्रह गर्नुभयो। उहाँले असल संगत, नियमित अध्ययन, अनुशासन तथा सकारात्मक सोचको विकासमार्फत उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभयो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले बालविवाह, लागुपदार्थ दुर्व्यसन तथा किशोरावस्थासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। सहभागी विद्यार्थीहरूका प्रश्नहरूको प्रहरी सहायक निरीक्षक भुलले स्पष्ट जवाफ दिँदै कानुनी व्यवस्था, सामाजिक असर तथा रोकथामका उपायबारे जानकारी गराउनुभएको थियो।




गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस