विपद् व्यवस्थापनलाई समावेशी बनाउने अभियानः गेरुवामा दुई दिने प्रशिक्षण

गेरुवा अपडेट
११ असार २०८३, बिहिवार

गेरुवा । गेरुवा गाउँपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड अफिस भैरहवाको समन्वय एवं सहकार्यमा “प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व (AAP) तथा मानवतावादी कार्यमा अपाङ्गता समावेशीकरण” सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

विपद् व्यवस्थापन तथा मानवतावादी कार्यलाई अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले विपद्का समयमा सबै नागरिकको समान पहुँच र सहभागिता सुनिश्चित गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले विपद् तथा मानवीय संकटका बेला समुदायको आवश्यकता, गुनासो र सुझावलाई सम्मानपूर्वक सम्बोधन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै अपाङ्गता भएका व्यक्तिहरूलाई विकास तथा विपद् व्यवस्थापनका सम्पूर्ण प्रक्रियामा सहभागी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष केसीले “कसैलाई पनि पछाडि नछोड्ने” सिद्धान्तलाई व्यवहारमा लागू गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यहरूलाई अझ समावेशी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै गेरुवा गाउँपालिकाका विपद् शाखा प्रमुख एवं सूचना प्रविधि अधिकृत कृष्ण सोडारीले प्रभावित समुदायप्रति उत्तरदायित्व अभिवृद्धि गर्ने, गुनासो, सुझाव तथा प्रतिक्रियाको प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने र मानवतावादी कार्यमा अपाङ्गता समावेशीकरण सुनिश्चित गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार प्रशिक्षणमार्फत योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका सबै चरणमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता बढाउने, समावेशी सेवा तथा सूचना पहुँच सुनिश्चित गर्ने, राहत, उद्धार तथा पुनर्स्थापना सेवामा सबै नागरिकको समान पहुँच स्थापित गर्ने तथा स्थानीय विपद् व्यवस्थापन संरचनाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

प्रशिक्षणमा स्थानीय विपद् व्यवस्थापन समिति, वडा समिति, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूलाई प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व र मानवतावादी कार्यमा अपाङ्गता समावेशीकरण सम्बन्धी अवधारणा, व्यवहारिक प्रयोग, समुदायसँगको संवाद, गुनासो व्यवस्थापन प्रणाली, समावेशी सूचना प्रवाह तथा विपद् व्यवस्थापनका विभिन्न चरणमा अपनाउनुपर्ने उपायहरूबारे जानकारी प्रदान गरिएको छ।

कार्यक्रमको सहजीकरण युनिसेफसँग आबद्ध सामाजिक तथा व्यवहार परिवर्तन (SBC) अधिकारी भूमि भण्डारी र सजना कुँवरले गर्नुभएको छ। सहजीकरणका क्रममा उहाँहरूले प्रभावित समुदायको आवाज सुन्ने र त्यसलाई निर्णय प्रक्रियामा समावेश गर्ने अभ्यासले मात्रै उत्तरदायी तथा प्रभावकारी मानवतावादी कार्य सम्भव हुने बताउनुभयो। साथै विपद्को समयमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य संवेदनशील समूहहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने विषयमा जोड दिनुभयो।

कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कर्म चौधरी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी तथा वडा नं. ६ का वडा अध्यक्ष कृष्णगोपाल चौधरीको सहभागिता रहेको थियो।

त्यसैगरी गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, अपाङ्ग सञ्जालका प्रतिनिधिहरू, प्रहरी चाैकी पथरैयाका प्रतिनिधी, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय स्तरमा कार्यान्वयन गरी विपद् व्यवस्थापन तथा मानवतावादी कार्यलाई अझ प्रभावकारी, उत्तरदायी र समावेशी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

गेरुवा गाउँपालिकाले आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण, समुदायको सहभागिता अभिवृद्धि तथा अपाङ्गता समावेशी विकासका क्षेत्रमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रशिक्षणबाट प्राप्त सिकाइले स्थानीय तहमा उत्तरदायी, पारदर्शी र समावेशी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।