शाइन रेसुङ्गाद्वारा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण

गेरुवा अपडेट
२५ जेठ २०८३, सोमबार

गेरुवा । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड पाताभार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेकाे छ।

गेरुवा गाउँपालिका–३ का पाँच फरक स्थानमा तीन दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब २०० जना वृद्धवृद्धा लाभान्वित भएका छन्। कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो।

स्थानीय ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। स्वास्थ्य परीक्षणसँगै रोगको पहिचान, उपचार सम्बन्धी परामर्श तथा स्वास्थ्य सचेतना समेत प्रदान गरिएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका शाखा प्रमुख धन कुमार कुमाल ले बैंकिङ क्षेत्र नाफा कमाउने संस्था मात्र नभई समाजप्रति पनि उत्तिकै जिम्मेवार रहने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा बैंकका कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याएको विश्वास गरिएको छ। पाताभार स्वास्थ्य चौकीका प्रमुख भूपेन्द्र थापाकाे नेतृत्वमा रहेकाे टाेलिकाे सहयाेगमा स्वास्थ्य जाँच गरिएकाे थियाे ।