ग्यास अभावका बीच गेरूवा–३ मा विद्युतीय चुलो वितरण, दोस्रो चरणको आवेदन पनि खुला
पुष्कर काफ्ले, शान्तिबजार । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला गेरूवा गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय बासिन्दालाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गरेको छ।
वडा अध्यक्ष निर्मल चौधरीका अनुसार गत आर्थिक वर्षमा आवेदन (फारम) भरेका ४६ परिवारलाई विद्युतीय चुलो वितरण गरिएको हो। यस कार्यक्रमले खाना पकाउन सहजता ल्याउनुका साथै एलपी ग्यासमाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।
वडा कार्यालयका अनुसार पहिलो चरणको वितरणसँगै थप आवश्यकता भएका घरधुरीका लागि दोस्रो चरणको आवेदन (फारम) संकलन गर्ने कार्य पनि जारी रहेको छ। आवश्यकताका आधारमा आगामी चरणमा थप लाभग्राहीलाई समेत विद्युतीय चुलो उपलब्ध गराइने जनाइएको छ।
यस कार्यक्रमअन्तर्गत विद्युतीय चुलोको कुल लागत रु. ४,३५० रहेको छ।
लागत साझेदारीअनुसार उपभोक्ताको २२.९४ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धनतर्फ ४७.९७ प्रतिशत र स्थानीय पालिकाको १९.०९ प्रतिशत योगदान रहेको छ। यस व्यवस्थाअनुसार उपभोक्ताले केवल १ हजार रुपैँया मात्र तिरेर विद्युतीय चुलो प्राप्त गरेका छन्।
वडा अध्यक्ष निर्मल चौधरीले विद्युतीय चुलोको प्रयोगले ग्यासको अभावबाट हुने समस्या कम हुनुका साथै स्वच्छ र सुरक्षित ऊर्जा प्रयोगलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यक परेका सबै घरधुरीलाई क्रमशः कार्यक्रममा समेट्ने उद्देश्यका साथ दोस्रो चरणको आवेदन प्रक्रिया सञ्चालन गरिएको जानकारी दिनुभयो ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस