जनताको भरोसाका पात्र बन्दै उप सेनानी राधेश्याम चौधरी

गेरुवा अपडेट
५ साउन २०८३, मंगलबार

पुष्कर काफ्ले, गेरुवा । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएकाे जवरजंग गणको गेरुवा सेक्टर अन्तर्गत बञ्जरीया कार्यालयका प्रमुख तथा नेपाली सेनाका उप सेनानी राधेश्याम चौधरी गेरुवा गाउँपालिकावासीको मन जित्न सफल हुनुभएकाे छ। विपद् व्यवस्थापनदेखि वन्यजन्तु नियन्त्रण, खोज तथा उद्धार कार्यसम्म उहाँ आफैँ अग्रपङ्क्तिमा खटिने शैलीका कारण स्थानीय समुदायबाट प्रशंसा बटुलिरहनुभएकाे छ ।

गाेहीकाे आक्रमणबाट बेपत्ता हुनुभएका गेरुवा ४ राजिपुरका विवश थारुकाे घटना हाेस् या पाैडी खेल्ने क्रममा गेरुवा नदिमा बेपत्ता भएका प्रदिप चाैधरीकाे घटनामा हाेस् उप सेनानी राधेश्याम चौधरी  निरन्तर खाेजीकार्यमा खटिनुभयाे । हरेक घटनामा उहाँ आफै अग्रपंतिमा रहेर खटिनुहुन्छ ।

गेरुवा क्षेत्र नदी, जंगल तथा वन्यजन्तुको उच्च जोखिम रहेको संवेदनशील क्षेत्रका रूपमा परिचित छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा कुनै पनि अप्रिय घटना घट्नासाथ उप सेनानी चौधरी आफ्नो टोलीसहित तत्काल घटनास्थल पुगेर उद्धार तथा व्यवस्थापन कार्यको नेतृत्व गर्दै आउनुभएकाे छ ।

विशेषगरी नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको खोजी कार्यमा होस् वा बाघ, हात्ती, गैँडा लगायतका वन्यजन्तुको गतिविधिका कारण उत्पन्न जोखिम व्यवस्थापनमा होस्, उहाँ दिन–रात, भोक–प्यासको प्रवाह नगरी निरन्तर खटिने गरेको स्थानीयको भनाइ छ। कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको कार्यशैलीले सर्वसाधारणमा सुरक्षा निकायप्रति थप विश्वास बढाएको छ।

गेरुवा ४ दक्षिण गाेलाका पूर्व बरघर कुलबहादुर थारुले कुनै पनि विपद् वा आकस्मिक घटनामा आदेश मात्र दिने होइन, आफैँ घटनास्थलमा पुगेर प्रत्यक्ष रूपमा उद्धार, समन्वय र व्यवस्थापनमा सक्रिय हुने अधिकारीका रूपमा उप सेनानी चौधरी परिचित बन्नुभएकाे छ। त्यसैले उहाँ स्थानीय समुदायका लागि भरोसाका पात्र बन्नुभएकाे छ ।

नेपाली सेनाले राष्ट्रिय सुरक्षा मात्र नभई विपद् व्यवस्थापन, मानवीय सेवा, खोज तथा उद्धार, वन तथा वन्यजन्तु संरक्षण लगायतका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। गेरुवा क्षेत्रमा उप सेनानी राधेश्याम चौधरीको नेतृत्वमा सेनाले गरेका कार्यहरूले यस भूमिकालाई अझ प्रभावकारी बनाएको स्थानीयको अनुभव छ।

गेरुवा उपभाेक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाही भन्नुहुन्छ, “कुनै दुर्घटना वा विपद् पर्दा उहाँलाई सधैँ अगाडि देखिन्छ। आफ्नो जिम्मेवारीलाई केवल कार्यालयभित्र सीमित नराखी प्रत्यक्ष रूपमा जनताको सेवामा समर्पित भएर काम गर्ने अधिकारी भएकाले उहाँप्रति हाम्रो सम्मान अझ बढेको छ।”

गेरुवा क्षेत्रमा नेपाली सेनाको सक्रिय उपस्थिति, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज र समुदायबीचको समन्वय तथा उप सेनानी राधेश्याम चौधरीको नेतृत्वले विपद् व्यवस्थापन र उद्धार कार्यलाई थप प्रभावकारी बनाएको स्थानीयको विश्वास छ।