गेरुवा–राजापुर जोडिने मैला नालामा पुल निर्माण हुँदै; स्थानीयमा खुसी
गेरुवा । वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्न बाध्य स्थानीयका लागि राहतको खबर आएको छ। गेरुवा गाउँपालिका वडा नं. ६ र राजापुर नगरपालिका वडा नं. ५ जोड्ने मानपुर टपरा कुलो (मैला नाला) मा पक्की पुल निर्माण कार्यले तीव्रता पाएपछि स्थानीयवासी उत्साहित बनेका छन्। विजय पुनको घर नजिक निर्माणाधीन पुलले दुई स्थानीय तहबीचको आवागमनलाई सहज मात्रै होइन, छोटो र सुरक्षित पनि बनाउने अपेक्षा गरिएको छ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण सुरु भएको उक्त पुलको लम्बाइ २२.७० मिटर र चौडाइ ८.४० मिटर रहनेछ। गेरुवा गाउँपालिकाले आगामी वर्षको जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाका अनुसार गाउँपालिकाको आन्तरिक लगानी मा निर्माण भइरहेको पुलको जिम्मा धुब्र कन्ट्रक्सन ले पाएको हो। पुल निर्माणका लागि १ करोड ७६ लाख रुपैयाँ खर्च हुने जनाइएको छ।
स्थानीयका अनुसार वर्षायाममा कुलोमा पानीको बहाव बढ्दा आवतजावत निकै कष्टकर बन्ने गरेको थियो। कतिपय अवस्थामा विद्यार्थी, बिरामी र सर्वसाधारणले जोखिम मोलेर कुलो पार गर्नुपर्ने कि लामाे बाटाे जानुपर्ने बाध्यता थियो। सवारी साधन सञ्चालनमा समेत समस्या हुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो।

अब भने पुल निर्माणले त्यो समस्या अन्त्य हुने आशा पलाएको छ। विशेषगरी गेरुवा गाउँपालिका वडा नं. ५ र ६ का स्थानीयलाई प्रशासनिक काम, स्वास्थ्य सेवा, शिक्षा, बजार तथा अन्य आवश्यक कामका लागि राजापुर नगरपालिकासम्म पुग्न सहज र छोटो दूरीको पहुँच उपलब्ध हुने विश्वास गरिएको छ।
स्थानीयवासीहरूका अनुसार पुल निर्माण केवल भौतिक पूर्वाधार मात्र नभई विकासको ढोका पनि हो। “यो पुल बनेपछि धेरै वर्षदेखिको दुःख हट्छ, आउजाउ सहज हुन्छ,” स्थानीयले बताएका छन्।
समयमै गुणस्तरीय निर्माण सम्पन्न भए यस पुलले गेरुवा र राजापुरबीचको सम्बन्धलाई थप बलियो बनाउँदै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस