रास्वपा गेरुवाको प्रथम अधिवेशनबाट सभापतिमा हुकुम बहादुर चलाउने सर्वसम्मत निर्वाचित

गेरुवा अपडेट
९ जेठ २०८३, शनिबार

गेरुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गेरुवाको प्रथम पालिका अधिवेशनबाट सभापतिमा हुकुम बहादुर चलाउने पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ गोबिन्दपुरमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा राम कृष्णी चौधरी, सचिवमा युवराज भुषाल तथा सह–सचिवमा दिपक पाण्डे सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्य पदमा राजु थारु, प्रसुराम चौधरी, वीर बहादुर विक र दिनेश शर्मा निर्वाचित हुनुभएको जनाइएको छ । यस्तै प्रमिला थारु, प्रेम थारु र नन्ना कामीलाई सदस्य पदमा मनोनित गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहभागीहरूले गेरुवामा पार्टी संगठन विस्तार, जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने तथा स्थानीय मुद्दामा प्रभावकारी रूपमा आवाज उठाउने अपेक्षा व्यक्त गरेका छन् ।

पुनः सभापतिमा निर्वाचित भएपछि हुकुम बहादुर चलाउनेले पार्टीप्रति विश्वास गरेर पुनः जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै संगठनलाई थप बलियो, सक्रिय र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले गेरुवाका जनताका समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयलाई प्राथमिकतामा राखेर पार्टीले काम गर्ने बताउनुभयो । साथै, सबैलाई साथमा लिएर पार्टीलाई गाउँ–गाउँसम्म विस्तार गर्ने र युवालाई नेतृत्वमा जोड्ने योजना रहेको उल्लेख गर्नुभयो ।

अधिवेशन सम्पन्न गर्न निर्वाचन संयोजकको जिम्मेवारी प्रेमनारायण भण्डारीले निर्वाह गर्नुभएको थियो भने निर्वाचन सदस्यमा लिला पनेरु र रामबाबु सुवेदी रहनुभएको थियो । निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिमै सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा अतिथिका रूपमा रास्वपाका क्षेत्रीय सभापति दिप नारायण श्रेष्ठ, क्षेत्रीय सदस्य चालुराम चौधरी, संगठन विभाग जिल्ला उप–संयोजक एवं RAT संयोजक पुष्पराज रिमाल तथा मधुवन नगरपालिका सभापति रामबाबु सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

अतिथिहरूले शुभकामना मन्तव्य राख्दै नवगठित कार्यसमितिलाई संगठन विस्तार, जनचासोका मुद्दा उठान तथा सुशासन र पारदर्शिताको पक्षमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए । उनीहरूले स्थानीय तहमा पार्टीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा जनताको विश्वास जित्ने गरी काम गर्न सुझाव दिएका थिए ।

गेरुवामा पहिलो पटक सम्पन्न पालिका अधिवेशनलाई रास्वपाको संगठन विस्तार र सुदृढीकरणका हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी रणनीति तय गर्ने तथा स्थानीय जनताका समस्या समाधानमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन् ।