राजापुरमा भत्किएको सडक स्थानीयले नै मर्मत गर्न थाले
राजापुर । बर्दियाको राजापुरमा भत्किएको सडक मर्मतका लागि सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीयवासी आफैं सडक मर्मतमा जुटेका छन्। राजापुर नगरपालिका–३ मा पर्ने राजापुर–गेरुवा सडक खण्डको विभिन्न स्थानमा सडक भत्किएर जोखिमपूर्ण बनेपछि स्थानीयले आर्थिक सहयोग संकलन गरी मर्मत कार्य थालेका हुन्।
करिब दुई वर्षदेखि सडक भत्किएको अवस्थामा रहे पनि सम्बन्धित निकायले मर्मतमा ध्यान नदिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ।
राजापुर नगरपालिका–३ टेडियाका संगम दहितका अनुसार सडकमा बनेका खाल्डाखुल्डीका कारण एक स्थानीयको ज्यान गएपछि थप दुर्घटना हुन नदिन स्थानीय आफैं मर्मतमा जुटेका हुन्।
दहितले भन्नुभयो, “स्थानीयले आर्थिक सहयोग जुटाएर सडक मर्मतको काम गरिरहेका छौं। स्थानीय सरकारले अहिलेसम्म सडक मर्मतमा चासो नदिएपछि बाध्य भएर हामी आफैं जुट्नुपरेको हो।”
उहाँका अनुसार गाउँका बडघरहरूसँग समन्वय गरी सडक आसपासका स्थानीयले श्रमदानसमेत गरिरहेका छन्। हालसम्म करिब तीन किलोमिटर सडक मर्मत गरिएको दहितले जानकारी दिनुभयो।
स्थानीयले सम्बन्धित निकायको बेवास्ताका कारण आफूहरू नै सडक मर्मतमा सक्रिय हुनुपरेको गुनासो गरेका छन्।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस