गेरुवामा वन्यजन्तुको आतंक पहिलो विपद् : वडा अध्यक्ष धर्मप्रकाश चौधरी
पथरैया । गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्मप्रकाश चौधरीले गेरुवा क्षेत्रमा वन्यजन्तुको आतंक नै प्रमुख विपद्का रूपमा रहेको बताउनुभएको छ ।
वडा नं. ५ कार्यालयमा आयोजित “स्थानीय विपद् तथा जलवायू उत्थानशील कार्यढाँचा र प्रकोप जोखिम नक्साङ्कन” सम्बन्धी १ दिने कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष चौधरीले दिनहुँजसो हुने वन्यजन्तुको आतंकका कारण स्थानीय नागरिक ठूलो समस्यामा परेको उल्लेख गर्नुभयो ।

उहाँले वन्यजन्तु नियन्त्रणका लागि मेष वायर प्रयोग गरिए पनि यसले साना जनावरलाई केही हदसम्म रोक्न सकेको तर ठूला जनावरलाई रोक्न नसकेको बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिए पनि यसको उचित व्यवस्थापन गर्न नसक्नु दुःखद पक्ष रहेको उहाँको भनाइ थियो ।
गेरुवा गाउँपालिकाको समन्वय तथा इन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) को आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागीहरूलाई चार समूहमा विभाजन गरी विगत करिब ३० वर्ष (२०५० सालदेखि हालसम्म) मा भएका विपद्का घटनाहरूको विश्लेषण, जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन, वर्षभरि कुन महिनामा कस्ता प्रकोपको सम्भावना बढी हुन्छ भन्ने विषयमा भित्ते क्यालेन्डर निर्माण तथा वडागत प्रमुख जोखिमहरूको पहिचान गर्ने अभ्यास गराइएको थियो ।

गेरुवा गाउँपालिकाका विपद् शाखा प्रमुख कृष्ण सोडारीले स्थानीय बासिन्दाको प्रत्यक्ष अनुभवमा आधारित यथार्थपरक तथ्याङ्क संकलनबाट आगामी कार्यविधि निर्माणका लागि ठोस आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्गता परियोजना अधिकृत राम बहादुर बुढा मगरले इन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) का गतिविधिबारे जानकारी गराउँदै बर्दिया र कैलाली जिल्लामा कुष्ठ प्रभावित व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा विपद् जोखिममा रहेका समुदायलाई स्वास्थ्य र सामाजिक–आर्थिक सहभागिताको अधिकार प्रयोग गर्न सशक्त बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले स्थानीय समुदायलाई सचेत बनाउने र स्थानीय तहमा राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्य समेत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम गेरुवा गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा सम्पन्न भइसकेको छ भने वडा नं. ६ मा समेत विपद् जोखिम पहिचान तथा व्यवस्थापन योजनाका आधारबारे गहन छलफल गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य श्यामपति चौधरी, वडा सदस्य बिरेन्द्र बहादुर शाह, दयाराम चौधरी, कमला परियार, मूल्यांकन तथा अनुगमन सहायक राजु घर्ती मगर, परियोजना सहजकर्ता गणेश थारु, बरघर, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।




गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस