स्थानीय विपद् तथा जलवायू उत्थानशील कार्यढाँचा र प्रकोप जोखिम नक्साङ्कन” सम्बन्धी १ दिने गोष्ठी गाेलामा सम्पन्न

गेरुवा अपडेट
२४ वैशाख २०८३, बिहिवार

पुष्कर काफ्ले, गाेला । स्थानीय स्तरमै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित “स्थानीय विपद् तथा जलवायू उत्थानशील कार्यढाँचा र प्रकोप जोखिम नक्साङ्कन” सम्बन्धी १ दिने कार्यशाला गोष्ठी गेरुवा ४ गाेलामा बिहिबार सम्पन्न भएको छ।

गेरुवा गाउँपालिकाको समन्वयमा भएकाे कार्यक्रम इन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । गेरुवा गाउँपालिका–४ नं. वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रम ४ नं. वडाका वडा अध्यक्ष महेन्द्र प्रसाद चाैधरीकाे सभाध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागीहरूलाई चार समूहमा विभाजन गरी विगत करिब ३० वर्ष (२०५० सालदेखि हालसम्म) मा घटेका विपद्का घटनाहरूको विश्लेषण, जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन, वर्षभरि कुन महिनामा कस्ता प्रकोपको सम्भावना बढी हुन्छ भन्ने भित्ते क्यालेन्डर निर्माण तथा वडागत रूपमा प्रमुख जोखिमहरूको पहिचान गर्ने अभ्यास गराइएको थियो।

जसमा गेरुवा गाउँपालिका वडा नं. ४ मा जंगली जनावरकाे आतंक पहिलाे, बाढी डुवान दाेश्राे विपद् रहेकाे समुहकाे निष्कर्ष रहेकाे थियाे ।

कार्यक्रममा वडा अध्यक्ष महेन्द्र प्रसाद चाैधरीले बडघर लगायत विपद् प्रभावित क्षेत्रकै स्थानीयको सक्रिय सहभागिताले वास्तविक जोखिमको पहिचान सम्भव हुने बताउनुभयाे । उहाँले प्रभावकारी विपद् व्यवस्थापन कार्यविधि तयार गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो।

गेरुवा गाउँपालिकाका विपद् शाखा प्रमुख कृष्ण सोडारीका अनुसार यस प्रक्रियाबाट स्थानीय बासिन्दाको प्रत्यक्ष अनुभवमा आधारित यथार्थपरक तथ्याङ्क संकलन भई आगामी कार्यविधि निर्माणमा ठोस आधार तयार हुने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा मूल्यांकन र अनुगमन सहायक राजु घर्ती मगर र परियोजना सहजकर्ता गणेश थारुले कार्यक्रमको उद्देश्य, आवश्यकता र अपेक्षित उपलब्धिबारे प्रष्ट पार्नुभएको थियो। मूल्यांकन र अनुगमन सहायक राजु घर्ती मगरले इन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) काे बारेमा जानकारी गराउनु हुँदै यो नेपालमा काम गर्ने सबैभन्दा लामो समयको अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरूमध्ये एक भएकाे बताउनुभयाे ।

यसकाे स्थापना सन् १९५२ मा भएको बताउँदै उहाँले यसकाे मूख्य उद्देश्य गरिब र पिछडिएका समुदायहरूलाई आशा, उपचार र दिगो विकास प्रदान गर्नु यसको मुख्य लक्ष्य रहेकाे बताउनुभयाे । साथै यसले स्वास्थ्य सेवाहरू (विशेष गरी कुष्ठरोग र अपाङ्गता), सामुदायिक स्वास्थ्य, र विकासका विभिन्न परियोजनाहरूमा काम गर्ने उल्लेख गर्नुभयाे । 

कार्यक्रम गेरुवा गाउँपालिकाकाे १, २, ३ र ४ वडामा सम्पन्न भइसकेकाे छ भने क्रमशः बाँकी वडामा सञ्चालन गरिने र विपद् जोखिम पहिचान तथा व्यवस्थापन योजनाका आधारहरूबारे गहन छलफल गरिने आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. ४ का वडा सदस्य सुशीराम चाैधरी, मिना रेग्मी, देविसरा विक, बरघर, सामुदायिक विपद् व्यवस्थापन समिति दंगपुर, दक्षिण गाेला र शान्तिपुर ढुकुनीयाका समितका पदाधिकारी, पत्रकार, बुद्दिजीवी, समाजसेवी लगायतकाे सहभागिता रहेकाे थियाे ।