गेरुवामा विपद् जोखिम नक्साङ्कन र जलवायू उत्थानशील कार्यढाँचा निर्माणमा जोड, १ दिने कार्यशाला सम्पन्न
पाताभार । बर्दियाको गेरुवा गाउँपालिकामा स्थानीय स्तरमै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित “स्थानीय विपद् तथा जलवायू उत्थानशील कार्यढाँचा र प्रकोप जोखिम नक्साङ्कन” सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गेरुवा गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रम इन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) लगायतका संस्थाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। गेरुवा गाउँपालिका–२ नं. वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष कृष्ण थारुको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम गेरुवा गाउँपालिकाका सबै ६ वटै वडामा क्रमशः सञ्चालन गरिने र विपद् जोखिम पहिचान तथा व्यवस्थापन योजनाका आधारहरूबारे गहन छलफल गरिने आयाेजकले जनाएकाे छ ।
कार्यशालामा सहभागीहरूलाई चार समूहमा विभाजन गरी विगत करिब ३० वर्ष (२०५० सालदेखि हालसम्म) मा घटेका विपद्का घटनाहरूको विश्लेषण, जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन, वर्षभरि कुन महिनामा कस्ता प्रकोपको सम्भावना बढी हुन्छ भन्ने भित्ते क्यालेन्डर निर्माण तथा वडागत रूपमा प्रमुख जोखिमहरूको पहिचान गर्ने अभ्यास गराइएको थियो।

गाउँपालिकाका विपद् शाखा प्रमुख कृष्ण सोडारीका अनुसार यस प्रक्रियाबाट स्थानीय बासिन्दाको प्रत्यक्ष अनुभवमा आधारित यथार्थपरक तथ्याङ्क संकलन भई आगामी योजना निर्माणमा ठोस आधार तयार हुने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा अधिकार तथा समावेशीकरण परियोजनाका अनुगमन तथा मूल्याङ्कन सहायक एवं परियोजना सहजकर्ता गणेश थारुले कार्यक्रमको उद्देश्य, आवश्यकता र अपेक्षित उपलब्धिबारे प्रष्ट पार्नुभएको थियो।

वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारुले विपद् प्रभावित क्षेत्रकै स्थानीयको सक्रिय सहभागिताले मात्र वास्तविक जोखिमको पहिचान सम्भव हुने बताउँदै आगामी आर्थिक वर्ष २०८३/०८४ लाई लक्षित गरी प्रभावकारी विपद् व्यवस्थापन कार्यविधि तयार गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस