गेरुवामा १ महिने मोटर ड्राइभिङ तालिमकाे समापन

गेरुवा अपडेट
२८ माघ २०८२, बुधबार

पुष्कर काफ्ले, शान्तिबजार ।  मध्यवर्ती क्षेत्रका स्थानीयलाई सीप तथा आयआर्जनसँग जोड्न गेरुवामा सुरु भएकाे १ महिने मोटर ड्राइभिङ तालिम बुधबार सम्पन्न भएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा पाताभार उभोक्ता समिति र गेरुवा उपभोक्ता समितिको संयुक्त आयोजनामा सुरु भएकाे १ महिने मोटर ड्राइभिङ तालिम बुधबार गेरुवा २ पाताभारमा सम्पन्न भएकाे हाे ।

एक महिने मोटर ड्राइभिङ तालिमको समापन समारोहमा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सराेजमणी पाैडेलले ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपरेको अवस्थालाई ध्यानमा राखेर ड्राइभिङ तालिम सुरु गरिएको बताउनुभयो ।

उहाँले सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने भएकाेले  यस्ता तालिमले जीविकोपार्जनमा सघाउ पुर्याइ रोजगार प्रवद्धन गर्ने भएकाेले तालिममा सहभागिहरुले यसलाई जीवनउपयाेगी बनाउन अनुराेध गर्नुभयाे ।

कार्यक्रममा पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु र गेरुवा उपभाेक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाहीले मध्यवर्तीका स्थानीयले संरक्षणमा खेलेको भूमिका उल्लेखनिय रहेकोले निकुञ्जले विभिन्न समयमा यहाँका स्थानीयलाई सीप तथा आयआर्जनसँग जोड्न विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

१ महिने तालिम अवधिमा सहभागीले जिप, कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गरेकाे तालिममा सहभागि हरी लाेहटीले बताउनुभयाे । तालिममा पाताभार उभोक्ता समितिबाट ८ जना र गेरुवा उपभोक्ता समितिबाट ६ जना गरी १४ जना ड्राइभिङ तालिममा सहभागि भएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत रेञ्जर कलाधर गाैतम, पाताभार उपभोक्ता समितिका सचिव तपेन्द्र बहादुर थापा, खप्टड माेटरड्राइभिङ सेन्टरका प्रशिक्षक दिपक बहादुर सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।