गेरुवामा संचालन भएकाे हस्तकला निर्माण तालिम समापन

गेरुवा अपडेट
२७ पुष २०८२, आइतबार

पुष्कर काफ्ले, जनकनगर । बर्दिया राष्ट्रिय निकुञ्जसँग जाेडिएकाे मध्यवर्ती क्षेत्रकाबासीन्दालाई आयआर्जनसँग जाेड्ने उदेश्यले आयाेजना गरिएकाे हस्तकला तालिमकाे आईतबार समापन गरिएकाे छ । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरमा करिब एक महिना संचालन भएकाे तालिमकाे एक कार्यक्रमका बीच समापन गरिएकाे हाे ।

बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा र राष्ट्रिय पर्यटन बोर्ड दिगो पर्यटन परियोजनाको लगानीमा आयाेजना गरिएकाे तालिमकाे पाताभार उपभाेक्ता समितिले समन्वय गरेकाे थियाे ।

गेरुवामा रहेका ४ वटा उपभाेक्ता समिति जसअन्तर्गत पाताभार उभाेक्ता समिति, गेरुवा उपभाेक्ता समिति, बिन्द्रा उपभाेक्ता समिति र असारेगाैडी उपभाेक्ता समितिबाट तालिममा १० जना सहभागि रहेका थिए । सहभागिहरुले छाेटाे समयमै काठबाट हात्ती, गैँडालगायत हस्तकलाको सामग्री निर्माण गर्न सक्ने भएका छन ।


तालिममा सहभागीले हस्तकलाको सामग्री निर्माण गर्दा रुचिपूर्वक सिकेको हुँदा छोटो समयमा राम्रोसँग हस्तकला सामग्री बनाउन सक्ने भएको प्रशिक्षक ताराबहादुर सुनारमा बताउनुभयाे ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले काठबाट निर्माणका गरिएको हस्तकला हात्ती, गैँडा सामग्री बजारमा सहजै बिक्री–वितरण गरेर आयआर्जन गर्न सकिने बताउनुभयाे । उहाँले काठबाट निर्माण गरिएको हस्तकलाको सामग्रीलाई मायाको चिनो दिन सकिने भएकाेले हस्तकलाकाे बजार फराकिलो रहेकाे बताउनुभयाे ।

समापन कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले मानव वन्यजन्तुको बिचमा हुने द्वन्द्व न्यूनीकरणका लागि यस्ता सीपमूलक महत्त्वपूर्ण हुने बताउनुभयाे । उहाँले निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटनलाई सहज रूपमा हस्तकलाका सामाग्री हात्ती र गैँडा बेच्न सकिने बताउँदै त्यसका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा बिन्द्रा उपभाेक्ता समितिका अध्यक्ष मिन बहादुर साँउदले मध्यवर्ती क्षेत्रका बासीन्दाले संरक्षणमा हामीले धेरै याेगदान पुर्याएका छाैँ तर हामीले निकुञ्जबाट के पायाै ? भन्ने प्रश्नकाे जवाफ केही यस्तै सीपमूलक कार्यक्रमले गर्ने गरेकाे बताउनुभयाे ।

बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत रेञ्जर कमल काफ्लेले संचालन गर्नुभएकाे कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएकाे जवरजंग जण बन्जरीयाका प्रमुख राधेश्याम चौधरी, रेञ्जर कलाधर गाैतम, पाताभार उपभाेक्ता समितिका अध्यक्ष तिकलराज थारु, नयाँ पत्रिकाका बर्दिया संवाददाता प्रकाश पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्रले सम्मान गरिएकाे थियाे भने अतिथिहरुलाई मायाकाे चिनाेकाे रुपमा प्रशिक्षार्थीहरुले निर्माण गरेका आकर्षक हस्तकलाका सामाग्री हात्ती, गैडा प्रदान गरिएकाे थियाे ।