गेरुवामा १ महिने मोटर ड्राइभिङ तालिम सुरु

गेरुवा अपडेट
२५ पुष २०८२, शुक्रवार

पुष्कर काफ्ले, शान्तिबजार । मध्यवर्ती क्षेत्रका स्थानीयलाई सीप तथा आयआर्जनसँग जोड्न गेरुवामा १ महिने मोटर ड्राइभिङ तालिम शुक्रबार देखि सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा पाताभार उभोक्ता समिति र गेरुवा उपभोक्ता समितिको आयोजनामा १ महिने मोटर ड्राइभिङ तालिम गेरुवा ३ बालुवाटार मैदानमा सुरु भएको हो ।

एक महिने मोटर ड्राइभिङ तालिमको उद्घाटन समारोहमा बोल्दै बञ्जरीया रेञ्जपोष्टका रेञ्जर रतिमान रावतले ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपरेको तथ्यलाई ध्यानमा राखेर ड्राइभिङ तालिम सुरु गरिएको बताउनुभयो ।

‘यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने गर्दछ ।’ रेञ्जर रावतले भन्नुभयो, ‘जीविकोपार्जनमा सघाउ पुर्‍याइ रोजगार प्रवद्धन गर्ने उद्देश्यले ड्राइभिङ तालिम सञ्चालन गरिएको हो । ’

कार्यक्रममा पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारुले मध्यवर्तीका स्थानीयले संरक्षणमा खेलेको भूमिका उल्लेखनिय रहेकोले निकुञ्जले विभिन्न समयमा यहाँका स्थानीयलाई सीप तथा आयआर्जनसँग जोड्न विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

‘१ महिने तालिम अवधिमा सहभागीले जिप, कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गर्ने छन ।’ अध्यक्ष थारुले भन्नुभयो, ‘तालिममा पाताभार उभोक्ता समितिबाट ८ जना र गेरुवा उपभोक्ता समितिबाट ६ जना गरी १४ जना ड्राइभिङ तालिममा सहभागि रहेका छन ।’

कार्यक्रममा गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाही, बञ्जरीया स्थित जवरजंग गणका पोष्टपती राधेश्याम चौधरी, बञ्जरीया रेञ्जपोष्टका कर्मचारी कालुचन्द ठकुरी, पाताभार उपभोक्ता समितिका सचिव तपेन्द्र बहादुर थापा, पाताभार र गेरुवा उपभोक्ता समितिका पदाधिकारी, मोटर ड्राइभिङ प्रशिक्षक दिपक बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।