गगन सिंह कुँवर फाउण्डेशनद्वारा रक्तदान सम्पन्न, ६९ जनाले गरे रक्तदान

गेरुवा अपडेट
१२ पुष २०८२, शनिबार

शान्तिबजार । गगन सिंह कुँवर फाउण्डेशन नेपाल गेरुवाकाे आयोजनामा शनिवार दाेस्राे वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् ।

गगन सिंह कुँवर फाउण्डेशन नेपालका अध्यक्ष शेर बहादुर कुँवरकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी रहुनुभएकाे थियाे । प्रमुख अतिथि एवं गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि गगन सिंह कुँवर फाउण्डेशनले खेलेकाे भूमिका अतुलनिय रहेकाे बताउनुभयाे । उहाँले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले फाउण्डेशनले रक्तदानको कार्यक्रम आयोजना गरेर सामाजिक कार्य गरेकाे उल्लेख गर्नुभयाे ।

कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु,  ३ का वडा अध्यक्ष निर्मल चाैधरी, इलाका प्रहरी कार्यालय पाताभारका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक भाेपेन्द्र बुढाथाेकी, नेपाल रेडक्रस साेसाइटी गेरुवा उपशाखाका सभापति नरेन्द्र प्रसाद पाण्डे, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, नेपाल स्वयमसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्साल, गेरुवाका  अध्यक्ष जीवन चाैधरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत ४ जना प्रहरीहरुले रक्तदान गरेका थिए भने अटाे चालक व्यवसायी, व्यवसायी, स्थानीय लगायतकाे उत्साहपूर्वक सहभागिता रहेकाे थियाे । रक्तदान कार्यक्रममा बर्दियामा सबैभन्दा बढी पटक रक्तदान गर्नुहुने नेपाल स्वयमसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले समेत रक्तदान गर्नुभएकाे थियाे । उहाँकाे गेरुवामा गर्नुभएकाे रक्तदान ७६ औँ पटक हाे ।

गेरुवा गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय पशुपतिनगर, गेरुवा गाउँपालिका वडा नं. ३ काे कार्यालय शान्तिबजार, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाताभार शाखाकाे आर्थिक सहयाेगमा र नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बर्दिया, लारी रक्त सञ्चार केन्द्र गुलरिया, नेपाल रेडक्रस साेसाइटी गेरुवा उपशाखाकाे सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

चिसाे माैसममा समेत ६९ जनाले कार्यक्रममा सहभागि  भई उत्साहपूर्वक रुपले रक्तदान गरेर कार्यक्रम भव्य बनाउन याेगदान पुर्याएकाे भन्दै फाउण्डेशनका अध्यक्ष कुँवरले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे । फाउण्डेशनका उपाध्यक्ष सीमा चलाउने खत्रीले संचालन गर्नुभएकाे कार्यक्रममा फाउण्डेशनका सदस्य ममता खत्रीले स्वागत मनतव्य राख्नुभएकाे थियाे ।  फाउण्डेशनले गत  भाद्र महिनामा गरेकाे पहिलाे रक्तदान कार्यक्रममा समेत ८३ जनाले रक्तदान गरेका थिए ।