बिन्द्राकाे सरस्वती आधारभूत विद्यालय तीन तारे विद्यालय घोषणा
बिन्द्रा । गेरुवा गाउँपालिका वडा नं. ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई शुक्रबार तीन तारे विद्यालय घोषणा गरिएको छ ।
विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० सूचक पूरा गरेपछि गाउँपालिकाले प्रमाणीकरण गर्दै यसलाई तीन तारे विद्यालय घोषणा गरेको हो ।
२०४६ सालमा स्थापना भएको विद्यालयको ३६ औं वार्षिक उत्सवको अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयका प्रधानाध्यापक योगेन्द्र कुमार चौधरीलाई प्रमाणीकरण प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले तीन तारे विद्यालय घोषणा भएकाले अब विद्यालयले स्वच्छ, सुरक्षित र विद्यार्थीमैत्री वातावरण निर्माणमा गरेको मेहनतको औपचारिक मान्यता प्राप्त भएको बताउनुभयाे । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले पालिकाका सबै विद्यालयलाई क्रमशः तीन तारे विद्यालय घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै तीन तारे विद्यालय अभियानमार्फत गुणस्तरीय शिक्षा, सुरक्षित विद्यालय र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने दृढ संकल्प रहेकाे उल्लेख गर्नुभयाे ।
गाउँपालिकाले विद्यालयस्तरमै खानेपानी, सरसफाइ, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन लगायत १० सूचक समेटिएको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

यस अभियानमा युके एड, वाटर एड नेपाल, नेपाल प्रजनन् स्वास्थ्य स्याहार केन्द्र र राष्ट्रिय अपांग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाले सहयोग गरिरहेको छ । हाल पालिकामा ४ माध्यमिक र २ आधारभूत विद्यालयमा वास गेन्स परियोजना सञ्चालनमा छ ।
सो अवसरमा विद्यालयलाई तीन तारे बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ५ का वडाध्यक्ष धर्म प्रकाश थारु र वेस संस्थाका कार्यवाहक अध्यक्ष शालिकराम थारु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका राख्नुभएकाे थियाे ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस