शुक्रबार शान्तिबजारमा रक्तदान कार्यक्रम हुँदै
पुष्कर काफ्ले, शान्तिबजार । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । गगन सिंह कुँवर फाउण्डेशन नेपाल गेरुवाको आयोजनामा यहि भदौँ २० गते शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो ।
नेपाल रेडक्रस सोसाइटी लारी रक्तसञ्चार केन्द्र गुलरिया, बर्दियाको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी गेरुवा उपशाखाको समन्वय, इलाका प्रहरी कार्यालय पाताभार बर्दियाको सहयोगमा हुन लागेको रक्तदान कार्यक्रममा करिब १०० पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको गगन सिंह कुँवर फाउण्डेशन नेपालका अध्यक्ष शेर बहादुर कुँवरले बताउनुभयो ।
उहाँले जिल्लामा रहेको रगत अभाव टार्न रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । ‘आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्युको संकट टर्छ । नयाँ जीवन पाउँछन् । यसर्थ हामीले रक्तदान दिएपछि त्यसले अरु कुनै पीडित व्यक्तिको उपकार हुन्छ ।’ अध्यक्ष कुँवरले भन्नुभयो, ‘रगत दान दिनु भनेको हामीले कुनै हानी नोक्सानी व्यहोर्नु हुँदै होइन । यसले हाम्रो शरीरलाई हित गर्छ ।’
अध्यक्ष कुँवरले रक्तदान कार्यक्रम सफल बनाउन सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न अपील गर्नुभएको छ ।
गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्ने बताउनुभयो । ‘रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तिव्र गतिमा बढ्न थाल्छ । शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।’
स्वास्थ्य शाखा प्रमुख भण्डारीले भन्नुभयो, ‘रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ । एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।’ बिहान १० बजेदेखि सुरु हुने रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रहनेछ । कार्यक्रममा बर्दियामा सबैभन्दा बढी रगत दिने रक्तदाता प्रेम लम्साल लगायतलाई सम्मानको कार्यक्रम समेत छ । यस्तै रक्तदाताहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस