संघीय सांसद अब्दुल खाँनलाई बढैयाताल–९ का अध्यक्षबाट १३ बुँदे ज्ञापन पत्र हस्तान्तरण

गेरुवा अपडेट
१३ भदौ २०८२, शुक्रवार

हुम कुमार चाैधरी, बढैयाताल । संघीय सांसद अब्दुल खाँनलाई बढैयाताल गाउँपालिका ९ का वडा अध्यक्ष विरबहादुर चौधरीले विभिन्न १३ बुँदे माग समेटिएको ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको छ । बिहीबार वडा कार्यालय परिसरमा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष चौधरीसहित स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापन गरी स्थानीय उद्योग सञ्चालनमार्फत रोजगार सिर्जना गर्ने, गुलरिया १२ भैसाही सीमाना देखि शक्तिनगर, जुक्तिनगर, सेवानगर हुँदै बारबर्दिया सीमासम्मको सडक कालोपत्रे गर्ने माग गरिएको छ ।

त्यसैगरी, ग्यांगनदीमा तटबन्ध निर्माण, कपास विकास समितिको जग्गा व्यवस्थापनका लागि संसदमा विशेष पहल गर्नुपर्ने, जंगली जनावरबाट सुरक्षाका लागि गाउँ वरिपरि तारजाली र सडकमा सोलार बत्तीको व्यवस्था, विभिन्न सडकको स्तरोन्नति तथा कालोपत्रे, वडा कार्यालयको पर्खाल र गेट निर्माण, बौद्ध गुम्बा र विहार निर्माणको माग पनि उल्लेख गरिएको छ ।

यसका साथै, १५ विघा क्षेत्रफलको खेलमैदानमा प्याराफिट निर्माण, प्रहरी चौकी सञ्चालन तथा भौतिक पूर्वाधार व्यवस्थापन, मुक्त कमैया र सुकुम्बासीबीचको विवाद समाधान तथा जग्गा व्यवस्थापन, जंगलमा जग्गा कित्ताकाट भइसकेका भुक्त कमैयाको पुनःस्थापनाको माग पनि समावेश छ ।

वडा नं. ९ मा वर्थिङ्ग सेन्टर सञ्चालन तथा संरचना निर्माण, सबैका लागि गुणस्तरीय र निःशुल्क शिक्षाको पहुँच विस्तार समेत लगाएतको माग मागपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै सांसद खाँनले उठाइएका सबै विषय गम्भीर रहेको भन्दै समस्याको समाधानका लागि आफूले संघीय तहमा सक्दो पहल गर्ने आश्वासन दिनुभएको छ।