‘५ जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भन्ने सांसद सिंहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा चर्काचर्की

गेरुवा अपडेट
८ असार २०८२, आइतबार

काठमाण्डाै । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी ५ बाहेक ७२ वटा जिल्ला अरू देशलाई लिजमा दिउँ भनेपछि संसद् बैठकमा भनाभन भएको छ ।

सांसद सिंहले प्रधानमन्त्री, सत्तारूढ दल कांग्रेसका सभापति, मन्त्रीलगायतले प्रतिनिधित्व गर्ने ५ बाहेक अरू जिल्लामा बजेट कम परेको भन्दै ती जिल्ला अरू देशलाई लिजमा दिउँ भनेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियम आपत्ति जनाउनुभयो । उहाँले सांसद सिंहको भनाइ संसद्को रेकर्डबाट हटाएर कारबाहीसमेत गर्नुपर्छ भनेपछि बर्ताैला, सांसद सिंह र सभामुख देवराज घिमिरेबीच भनाभन भएको हो ।

एमाले र कांग्रेसका अरू सांसदहरू पनि उठेर सिंहलाई कारबाहीको माग गरे । चर्काचर्की भएपछि सभामुख घिमिरले सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिँदै विषयमा बोल्न निर्देशन दिनुभयो । सिंह थप आक्रोशित भएर बोल्न थालेपछि सभामुख घिमिरेले विषयमा बोल्न वा डायस छाडेर तल जान निर्देशन दिनुभयो ।

सभामुख घिमिरेले आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बेल घेराउ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिष्कारकैबीच कार्यसूचीमा प्रवेश गर्नुभएको हो । रास्वपा  र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् । आजको बैठकमा पनि आउँदो वर्षको बजेटअन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ । उज्यालाेबाट