विष्णु पौडेल पाँचौ पटक पनि अर्थमन्त्री
काठमाडाैँ । नेकपा(एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । योसहित उनी अर्थमा पाँचौ र त्यो बाहेक खेलकूद,जलस्रोत र रक्षा मन्त्री भइसकेका छन् ।
पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोजमा उनी अर्थ मन्त्री बनेका थिए । यस्तै, तेस्रो पटक २०७८ जेठमा, चौथोपटक २०७९ पुसमा उप–प्रधानसहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । उनी नेकपा(एमाले) को चलाख कूटनीतिक नेता भित्र पर्छन् । ६५ वर्षिय पौडेल सोही पार्टिको दुई वर्षअघि भएको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कमिटीबाट राजनीति शुरु गरेका पौडेल ११ वर्ष भूमिगत थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेल २०४७ सालयता उक्त पार्टीको केन्द्रीय सदस्य रहँदै आएका छन् ।
शुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका उनी लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।
अर्थमन्त्रीको रुपमा विज्ञता नभए पनि विगतको कार्य कुशलताको आधारमा उनी औसत मानिन्छन् । निजी क्षेत्रसँग समन्वयकारी भूमिका निभाउन सक्ने खुबी भएका उनले मुलुकको आर्थिक क्षेत्रलाई गहिरोसँग बुझेका छन् ।
उनलाई पूँजीबजार क्षेत्रका व्यक्तिहरुले पनि लगानीकर्ताहरुको मनोभावना बुझ्ने मन्त्रिको रुपमा लिने गरेका छन् । अहिले अर्थतन्त्र शीथिल रहेको अवस्थामा उनको अर्थमन्त्रीमा पाँचौ कार्यकाल कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस