विद्युत् प्राधिकरणले फेरि भन्यो : २८ मासिक किस्तामा विद्युत् महसुल बुझाऊ
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको बताएको छ ।
जसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत् महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बताएको छ ।
प्राधिकरण सञ्चालक समितिको गत असार २६ गतेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको हो । विद्युत प्राधिकरणले यसअघि पनि मासिक किस्तामा विद्युत् महसुल बुझाउन भनेको थियो। तर उद्योगीहले यसतर्फ बेवास्ता गर्दै आएका छन् ।
त्यसपछि प्राधिकरण सञ्चालक समितिको गत असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।प्राधिकरणले बक्यौता शुल्क नबुझाएको भन्दै भुक्तानीको लागि ६१ वटा उद्योगलाई पत्राचार गरेको छ। तर उद्योगहरुले लोडसेडिंङको बेलामा अतिरिक्त विद्युत् प्रयोग नगरेको र प्रयोग नगरेको विद्युतको महसुल नतिर्ने जवाफ दिंदै आएका छन्।
पटक- पटकको ताकेता पश्चात पनि दाबि गरिएको महशुल तिर्न नआएपछि उद्योगहरुको लाइन काट्ने निर्देशन भएको नेपाल विद्युत प्राधिकरणको दाबी छ। तर प्राधिकरणले दाबी गरेको महशुल नतिर्ने उद्योगहरुमा एकै पटक नभई किस्ताबन्दीमा उद्योगको विद्युतको लाइन काट्दै आएको छ।
केहि उद्योगले बक्यौता तिर्न सहमत हुँदै किस्ताबन्दीमा तिर्न थालिसकेका छन् भने अधिकांश उद्योगले आफुले बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले देखाए मात्र बक्यौता तिर्ने बताइरहेका छन् ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस