बर्दियाली युवा समाजद्वारा गेरुवा गाेल्डकपमा सहभागिता जनाउने घोषणा

गेरुवा अपडेट
२७ भदौ २०८१, बुधबार

गेरुवा । विभिन्न सामाजिक कार्यमा सक्रिय बर्दियाली युवा समाजले गेरुवामा हुने भनिएको गेरुवा गोल्डकपमा सहभागिता जनाउने भएको छ । गेरुवामै आयोजना गरिएको फुटबल प्रतियोगितामा दुई पटक च्याम्पियन बन्न सफल बर्दियाली युवा समाजले यस पटक पनि च्याम्पियन बन्ने दृढताका साथ प्रतियोगितामा सहभागि हुने अध्यक्ष प्रेम माझीले बताउनुभयो ।

फुटबल क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका सक्षम खेलाडीहरुलाई यस पटक मैदानमा उतार्ने तयारी बर्दियाली युवा समाजले गरेको छ । खेलमा सहभागि गराइने खेलाडीहरुको व्यवस्थापन गर्न आर्थिक भार पर्ने देखेपछि बर्दियाली युवा समाजले देश विदेशमा रहनुभएका खेलप्रेमीहरुलाई सहयोगको अपील गरेको छ ।

आफ्नो आधिकारी फेसबुकबाट सूचना जारी गर्दै गेरुवाको आगनमा ख्यातिप्राप्त खेलाडीहरु उतारेर खेलमा थप रौनकता थप्ने र गेरुवाको प्रचार प्रसारमा टेवा पुर्‍याउने उद्देश्यले आफुहरु प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।

गेरुवाको विकासमा सदैव सक्रिय रुपमा खटिएको बर्दियाली युवा समाजले काठमाण्डौंमा समस्यामा परेका बर्दियाली विशेष गरेर विद्यार्थीहरुको समस्या समाधान गर्न सदैव दृढ रहेको देखिन्छ ।

बर्दियाली युवा समाजलाई जिमि ग्रुपका प्रवन्धक जीवन चलाउनेले १ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ भने थुप्रै सहयोग रकम संकलनको क्रममा रहेको बताइएको छ । बर्दियाली युवा समाजले सहयोगको लागि तलको स्क्यानरबाट सहयोग गर्न खेलप्रेमी युवाहरुलाई आग्रह गरेको छ ।