प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्न पाएपछि राम कुमारी मख्ख ! (भिडियो सहित)

गोला । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर बस्ने ३० बर्षिय राम कुमारी चौधरी चर्को गर्मीमा पसिना चुहाउदै गेरुवा ४ दक्षिण गोला स्थित ‘देविराम थारुको घर देखि सितनारायणको घरसम्म माटो पटानी’ आयोजनामा काम गर्न व्यस्त हुनुहुन्थ्यो । प्रचण्ड गर्मीमा पसिनाले शरिर लुथुक्कै भिजेको थियो तर मनभरी खुसीले छाएको थियो । पहिलो उहाँ श्रीमानकै कमाईमा निर्भर हुनुहुन्थ्यो । हातमा लगाएका चुरा फेर्न र छोरीको लागि एउटा सिसाकलम किन्न समेत उहाँले श्रीमानको मुख ताक्नुपथ्र्यो ।

तर अब उहाँले आफ्नो परिवारको सामान्य आवश्यकता पुरा गर्न कसैको मुख ताक्नुपर्ने अवस्था छैन । उहाँ पसिनाले भिजेपनि केही कमाउन थालेपछि उहाँको अनुहारमा खुसी छाएको देखिन्छ । राम कुमारीका घरमा एक जना श्रीमान र दुई वटी छोरी र उहाँ समेत गरेर ४ जनाको परिवार छ । जग्गाको नाममा घरबास मात्र छ । श्रीमानकै कमाईले दुई वटी छोरीको शिक्षादिक्षा र विभिन्न समयमा विभिन्न रोगहरुको संक्रमणबाट औषधी उपचार गराउन उनको परिवारलाई हम्मेहम्मे हुन्थ्यो । कसैसँग पैसा सापटी माग्दा समेत दिन मन गर्थेनन ।

‘गरिवलाई कसैले दुःख आईपर्दा समेत सहयोग गर्न चाहादैनन ।’ राम कुमारीले भन्नुभयो, ‘अहिले अलि अलि कमाउन थालेपछि आपत विपत परेका परिवारहरु सहयोगको अपेक्षा लिदै भेट्न आउछन ।’ ‘आर्थिक सङ्कट’ले थिचेको उहाँको परिवारमा राम कुमारीले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा काम गर्न थालेपछि जीवनयापन केही सहज भएको छ । गाउँकै एक व्यक्तिबाट उहाँले उक्त कार्यक्रमको योजना सञ्चालन हुने जानकारी पाउनुभयो । ‘रोजगार कार्यक्रम सञ्चालन हुँदैछ भन्ने सुनेँ । तर, त्यसमा कसरी सहभागी हुने भन्ने केही थाहा थिएन,’ उहाँले भन्नुभयो, ‘पछि गाउँका एक जना व्यक्तिले वडा कार्यालयमा गएर बुझ्न सल्लाह दिनुभयो ।’यसअघि कहिल्यै वडा कार्यालय नजाउनु भएकी उहाँलाई त्यहाँ गएर के भन्ने, कसरी बोल्ने भन्ने विषयमा ‘डर’ लाग्यो । यो ‘अग्नि परीक्षा’ पनि थियो उहाँका लागि । चुलो चौकोमा मात्र सिमित उहाँ जाऊ भने त्यहाँ गएर के भन्ने, कसरी बोल्ने ? नजाऊ भने परिवारको खर्च कसरी चलाउने ? उहाँका मनमा विभिन्न प्रश्न खडा भए । अन्ततः उहाँ वडा कार्यालय पुग्नुभयो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनेबारे कर्मचारीसँग बुझेँ । त्यहाँका कर्मचारीले सबै कुरा बुझाइदिनुभयो,’ उहाँले भन्नुभयो ।

त्यसअघि घरबाट कहिल्यै बाहिर ननिस्कनुभएकी उहाँलाई आफ्नो परिवारको समस्याले वडा कार्यालयसम्म पुग्ने हिम्मत दिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमबारे कर्मचारीबाट जानकारी पाएपछि उहाँले बेरोजगार फम भर्नुभयो । र, घर फर्कनुभयो । केही दिनपछि वडा कार्यालयले गाउँका बेरोजगारको सूची निकाल्यो । त्यसमा उहाँको नाम पनि समावेश थियो । उहाँ खुसीले गदगद हुनुभयो । ‘बेरोजगार सूचीमा नाम आएपछि निकै खुसी लाग्यो,’ उहाँले भन्नुभयो ।आफ्नो दुई छोरीलाई राम्रोसँग पठाउने र उनीहरुलाई आवश्यक पर्ने कापी कलमको कहिल्यै अभाव नहोस भनेर सोच्ने उहाँ नाम आएपछि गहुँ गोरो वर्णकी राम कुमारीको अनुहार खुसीले धपक्क बलेको थियो । बेरोजगारको सूचीमा नाम आएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा काम पाउनेमा उहाँ ढुक्क हुनुभयो । भयो पनि त्यस्तै । प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना गाउँमा समावेश भएपछि उहाँले काम पाउनुभयो ।

गेरुवा ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी

आइ.डि.ए. बाट संचालित माटो पटानी योजनामा उहाँ काम गर्न थाल्नुभयो । त्यसपछि उहाँको परिवारले घर खर्चका लागि आफन्त र छिमेकीसँग ऋण काँड्नुपर्ने अवस्था आएन । ‘उक्त योजनामा काम गरेको ज्याला पाएपछि परिवारको खर्च चलाउन निकै सहज हुनेभयो,’ उहाँले भन्नुभयो । उहाँले १०० दिन काम गरेको ज्याला ५७ हजार १२३ रुपैँया अब केहि दिनमै उहाँको खातामा आउने छ । यस कार्यक्रमअन्तर्गत एक दिनको ज्याला ५ सय ७७ रुपैयाँ दिने गरिएको छ ।उक्त योजनाबाट आएको पैसाले के–के गर्ने भनेर उहाँले दिमागमा सरर राख्नुभएको छ । त्यो पैसाले आयमुलक काममा खर्च गर्ने उहाँको योजना रहेको छ । ‘पहिले श्रीमानको कमाइमा मात्रै भर पर्नुपथ्र्याे । उक्त योजनामा काम पाएपछि आफै कमाउन सक्ने भएँ,’ उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण आफू आत्मनिर्भर हुन सकेको उल्लेख गर्नुभयो ।गेरुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीको विचारमा यो कार्यक्रमले बेरोजगारलाई रोजगार मात्रै दिएको छैन, ज्याला रकम सदुपयोग गर्न पनि उत्प्रेरित गरेको छ । ‘यो कार्यक्रममा काम गर्नेको ज्याला रकम कामदारकै बैंक खातामा जम्मा हुने भएकाले उक्त रकमको सदुपयोग भएको छ,’ अध्यक्ष चौधरी भन्नुहुन्छ, ‘त्यसकारण यो कार्यक्रम बेरोजगारका लागि निकै उपयुक्त रहेको छ ।’

गेरुवा गाउँपालिका रोजगार संयोजक राज्यलक्ष्मी झा

प्रधानमन्त्री रोजगार कार्यक्रमको गेरुवा गाउँपालिका संयोजक राज्यलक्ष्मी झा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिहरु आफुसँग भेट हुँदा यस्तो कार्यक्रम निरन्तरता भइदिएको भए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको बताउनुहुन्छ । ‘रोजगारमा सहभागिहरु यो कार्यक्रमले आफुहरुलाई ठुलो राहत मिलेको बताउँछन ।’ संयोजक झाले भन्नुभयो, ‘योजनामा काम गरिरहदा सहभागिहरुको थकित अनुहारमा थुप्रै आशाहरु पलाएको स्पष्ट देखिन्छ ।’कार्यक्रमका योजनामा सहभागी कामदारको रकम बैंक खाताबाट भुक्तानी हुने व्यवस्था मिलाइएको उहाँ बताउनुहुन्छ । ‘यसले पनि उक्त रकम सदुपयोग हुने सम्भावना हुन्छ,’ उहाँ भन्नुहुन्छ । कामदारले रकम सदुपयोग गर्लान् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको जानकार बताउँछन् ।

स्थानीय

गेरुवा गाउँपालिका वडा नं. ४ का स्थानीय देवीराम थारुले आफ्नै ठाउँको विकास निर्माणमा सहभागी हुने भएकाले उनीहरूमा अपनत्वबोध हुने भएकोले विकास निर्माणका योजना गुणस्तरीय बन्ने उहाँको दाबी छ । पहिले बर्षायाममा हिड्नै नसकिने सडक अहिले अहिले निर्माण भएपछि स्थानीयलाई आवतजावत सहज हुनेमा विश्वास रहको छ ।

गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारका हिसाबले मात्रै नभई अन्य विभिन्न कारणले यो उपयुक्त रहेको बताउनुहुन्छ । ‘यसले गर्दा महिला आत्मनिर्भर भएका छन् । विकासका काममा उनीहरूको सहभागिता बढेको छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यति मात्रै होइन, घरबाट बाहिर ननिस्कने महिलाहरू बाहिर निस्कन सक्ने भएका छन् ।’ यसअघि घरभित्रै बस्ने महिलाहरू बैंकिङ क्रियाकलाप गर्न बैङ्कसम्म पुग्न सक्ने भएको उहाँको भनाइ छ । यो कार्यक्रमले रोजगारमूलक कार्यक्रममा गाउँघरका महिलाको आकर्षण बढाएको उहाँले बताउनुभयो ।

गाउँको मुहार फेरिँदै

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँको मुहार फेरिँदै गएको छ । गाउँमा विकास निर्माणका आयोजना सञ्चालन भएसँगै गाउँको मुहार फेरिएको हो । विकास निर्माणका आयोजना सञ्चालन भएसँगै स्थानीयले सुविधा पाएको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुरका बडघर सम्शेर चौधरी बताउनुहुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गेरुवा गाउँपालिकामा विभिन्न योजना सम्पन्न भएका छन् । भने केही योजनाहरु सम्पन्न हुने तयारीमा रहेका छन । यी योजना सम्पन्न भएसँगै स्थानीयले विभिन्न सुविधा पाएका छन् । यी योजनामा गाउँकै बेरोजगारहरूलाई काम दिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिकाका रोजगार संयोजक झा बताउनुहुनछ । ‘यसबाट उनीहरूको घर खर्चको जोहो भएको छ,’ उहाँले भन्नुभयो ।

यस्तो छ गेरुवा गाउँपालिका
गेरुवा गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा रहेको छ । चिसापानी क्षेत्रबाट कर्णाली नदी दुई दिशा छुटिएको छ । कर्णाली नदी दुईतिरबाट भएर जाँदा बिचमा बनेको टापुमा गेरुवा गाउँपालिका रहेको छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु (बाघ, भालु, हात्ति, मृघ आदि) अवलोकन गर्न पाइन्छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गा.वि.स. समावेश गरी जम्मा ६ वडाहरू कायम गरी गेरुवा गाउँपालिका घोषणा गरिएको हो ।

गेरुवा गाउँपालिका समुद्री सतहबाट १४५ मिटरदेखि १८० मिटरसम्मको उचाइमा फैलिएको छ । त्यसैगरी ७८.४१ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् ।

बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा गेरुवा गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् ।

औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतहरूमा साना व्यापार, सेवामुलक व्यवसाय, नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढीरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यामिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरू रहेका छन् । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

 

 

Back to top button