जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली

गेरुवा । जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन ।

पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ महिनाको अवधिमा कार्य सम्पन्न भएको हो । मेष जाली निर्माण कार्यले २ नं. वडाका टिकुलिगढ, भैरमपुर र बनघुस्रा क्षेत्रमा जंगली जनावारको आतंकबाट ठुलो राहत मिल्ने देखिन्छ ।

आइतबार गेरुवा २ बनघुस्रामा भएको सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखा परिक्षण कार्यक्रममा बोल्दै एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका सेफ गार्ड तथा जेसी अधिकृत निशान्त अधिकारीले मेष जाली २५ लाख ७२ हजार ५५ रुपैँया लागतमा निर्माण कार्य सम्पन्न भएको भन्दै यसलाई दिगो बनाउन स्थानीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत बन्जरीया रेञ्ज पोष्टका रेञ्जर कलाधर गौतम रहनुभएको थियो । पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका फिल्ड सुपरभाइजर गोपी चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गेरुवा २ वडाको लागि मेष जाली निर्माण कार्य अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए । सो क्षेत्रमा मेष जाली जडान भएपछि २०४० सालको भिषण बाढीपछि उपभोग विहिन भएको जग्गामा किसानहरुले खेती गर्न थालेका टिकुलीगढका बडघर कुल बहादुर चौधरीले बताउनुभयो ।

Back to top button