गेरुवा र टीकापुर जोड्ने कर्णाली नदी स्थित सनकट्टीमा पुल निर्माण सुरु

गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएपछि स्थानीय हर्षित बनेका छन । नदी वारपार गर्न स्टेम्बरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारणहरु पक्की पुल निर्माणले गति लिएपछि हर्षित बनेका हुन । उक्त पुल अबको दुई बर्ष भित्रै निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

१ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका लेखा प्रमुख प्रभाकर प्याकुरेलले जानकारी दिनुभयो ।

१३ वटा स्पान रहने पुलमा ७ दशमलव ५ मिटर चौडाइ र दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहने उहाँले जानकारी दिनुभयो । यही असारभित्र ६ वटा पिल्लर निर्माण गर्ने गरी काम अघि बढिरहेको उहाँको भनाई छ ।

पुल निर्माण भएपछि गेरुवाबाट टीकापुर निकै छोटो बाटो हुनेछ । यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तीघाटमा ०७३ सालमा पुल बनेको थियो ।

Back to top button