टी-२० विश्वकप खेल्न जाने टोलीको बिदाइमा पुगे सन्दीप लामिछाने

काठमाण्डाैं । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइमा सन्दीप लामिछाने सहभागी भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा लामिछाने पनि पुगेका हुन् ।

विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ, जसमा सन्दीप लामिछाने छैनन् ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् । अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको छ । तर, उक्त फैसलाविरुद्ध उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । यो साता सुनुवाईको पेशी तोकिए पनि लगातार हेर्न नभ्याइनेमा परेको उक्त मुद्धा अर्को साता प्राथमकतामा राख्ने अदालतले जनाएको छ । उनको अनुपस्थितिमा विश्वकपको टोलीमा युवा स्पिनर ढकाललाई मौका दिइएको छ ।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जाँदैछ । विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ । विश्वकपमा नेपालको समूहमा नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

विश्वकपका लागि नेपालको टोली-

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह । केन्दबिन्दु डटकमबाट

Back to top button