गेरुवामा सडकको मुहार फेरीदै, सतमोहरी देखी खोल्टीबजार जाने सडककाे काम अघि बढ्यो

सतमाेहरी । साँघुरो सडकका कारण आवतजावतमा समस्या रहेको सतमोहरी देखि नवज्योति बजार (खोल्टीबजार) जाने सडक निर्माणको काम अघि बढेको छ । गेरुवा गाउँपालिकाको सतमोहरी देखि बुढीकुलो करिडोर हुँदै खोल्टीबजार जाने सडक कालोपत्रे आयोजना अन्तरगत काम सुरु भएको हो ।तुलसी, डि‍.जे., राउचुली जेभीले निर्माणको जिम्मा लिएको आयोजनाको ३ करोड ११ लाख १० हजार ८५३ रुपैँया लागत रहेको छ । २०८० माघ २९ गते सम्झौता गरेको निर्माण कम्पनीले २०८१ माघ ३० गते सम्पन्न गरिसक्नुपर्ने छ । बहुबर्षिय योजना अन्तरगत १.८ किलोमिटर कालोपत्रे हुने सडकको चौडाई नाली सहित १५ मिटर रहने साइड इन्चार्ज रमेश बँजगाईले जानकारी दिनुभयो ।अहिले उक्त सडक खण्डमा स्टक्चरको काम भइरहेको छ । साँघुरो सडकका कारण आवतजावतमा समस्या खेपेका स्थानीयहरु सडक निर्माणको काम अघि बढेपछि खुसी भएका छन । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले गेरुवा गाउँपालिकाका बाटाेघाटाेले मुहार फेर्न थालेको बताउनुभयो ।

उहाँले समग्र विकासका लागि सडकनै मेरुदण्ड भएको उल्लेख गर्दै जति सडक चौडा हुन्छ हाम्रो जग्गाको पनि त्यतिनै मुल्यावान हुने भएकोले एक दुइ हात जग्गा जादैमा पिर मान्न नहुने बताउनुभयो । समृद्ध गेरूवा गाउँपालिका निर्माणको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नारा बोकेको पालिकाले गेरुवाको समग्र विकासको लागि योजना अनुसार अघि बढिरहेको बताउनुभयो ।

Back to top button