इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मा मतदान सुरु

इलाम । इलाम-२ र बझाङ १ (१) मा उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि दुई निर्वाचन क्षेत्रमा मतदान शुरू भएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (१) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Back to top button