आईपीएल क्रिकेटमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, बेङ्गलुरु २५ रनले पराजित

काठमाण्डाै l इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ ।

गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट काेहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो । हैदराबादका ट्राभिस हेडले १ सय २, हेनरिच क्लासेनले ६७ रन बनाए ।

जितसँगै चौथाे स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ । एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ पुछारमा छ । आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो ।

आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् । उज्यालाेबाट

Back to top button