२९ औं वन्यजन्तु सप्ताहको अवसरमा गेरुवामा हाजिरी जवाफ प्रतियोगिता

जोधिपुर । २९ औं वन्यजन्तु सप्ताहको अवसरमा गेरुवा गाउँपालिकामा वाईल्डलाईफ हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालय जोधिपुरमा सम्पन्न भएको प्रतियोगितामा गेरुवा गाउँपालिकाका ७ वटा आधारभूत विद्यालयहरुको सहभागिता रहेको थियो ।प्रतियोगितामा सरस्वती आधारभूत विद्यालय गेरुवा ४ जोधिपुरले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै बालप्रिय आधारभूत विद्यालय गेरुवा ४ तिनघरुवा द्वितिय, सरस्वती आधारभूत विद्यालय गेरुवा ५ विन्द्रा तृतिय र खैरावाङ्ग भगवती आधारभूत विद्यालय गेरुवा २ राजिपुरले सान्तवनामा चित्त बुझाउनु परेको छ ।प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक नायारण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरीया रेञ्ज पोष्टका रेञ्जर कलाधर गौतम प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेञ्जर गौतमले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आजको आवश्यकता संरक्षणमा बाल सहभागिता भन्ने नारा सहित प्रतियोगितामा बालबालिकाहरुको सहभागिता गराइएको उल्लेख गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा बर्दियाको आयोजना र सरस्वती आधारभूत विद्यालय गेरुवा ४ जोधिपुरको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक दिपेन्द्रराज काफ्लेले गर्नुभएको थियो ।

Back to top button