नन्दऋषी चौलागाईले भाडाको जग्गामा गरेको केरा खेतीमा अज्ञात व्यक्तिहरुद्वारा क्षति

नौरङ्गा । देशमै केही गर्छु भनेर विगत लामो समयदेखि बर्दियामा केरा खेती गर्दै आउनुभएका गेरुवा ४ खोनपुरका नन्दऋषी चौलागाईले गर्नुभएको केरा खेतीमा अज्ञात व्यक्तिहरुले क्षति पुर्‍याएका छन । गेरुवा गाउँपालिका वडा नं. ६ नौरङ्गामा करिब साढे ३ विगाहा क्षेत्रफल जग्गा भाडामा लिएर चौलागाईले गर्नुभएको केरा खेतीमा अज्ञात व्यक्तिहरुले क्षति पुर्‍याएका हुन ।उनीहरुले हातैले केराको बोट हल्लाएर करिब १ सय ५० केरामा क्षति पुर्‍याएका कृषक चौलागाईले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । उहाँले नयाँ बर्ष वा त्यो भन्दा पछिको दिनमा केरा खेतीमा क्षति गरेको हुनसक्ने र आफुलाई त्यो बारे आजै थाहा भएको बताउनुभयो । ‘देशमै केही गर्छु भन्ने दृढताका साथ केरा खेती विगत लामो समयदेखि गर्दैछु ।अरुको जग्गा भाडामा लिएर दिन रात नभनि गरेको दुःखमा खै कसको आँखा लाग्यो ।’ चौलागाईले भन्नुभयो, ‘बरु कसैले केराको घडी मागेको भए दिन सक्थे । यो घटनाले आफुलाई अत्यन्तै दुःखी तुल्याएको छ । यस बारे प्रहरी चौकी मनाउमा निवेदन पेश गरेको छु ।’ केरा खेतीमा पुगेको क्षतिबाट कृषक चौलागाईले आफुलाई करिब ७० हजार बराबरको क्षति पुगेको बताउनुभयो ।

यस्ता घटनाले यो समाज कता तर्फ जादैछ भन्ने प्रश्न खडा गरेको छ भने मेहनती किसानहरुलाइ आफ्नो व्यवसायबाट हतोत्साहित पार्ने देखिन्छ ।

Back to top button