ठेक्का अवधिभन्दा ६ महिना अगावै पुल निर्माण सम्पन्न

पथरैया । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला बर्दियाको गेरुवामा निरौला बिल्डर्सले छ महिना अगाडि नै पक्की पुल निर्माण गरेर देखाएको छ । गेरुवा गाउँपालिका वडा नं. ५ स्थित पथरैया बन्जरीया जोड्ने कुलोमा निरौला बिल्डर्सले सम्झौता अबधि सकिन छ महिना बाँकी रहदै पुल निर्माण सम्पन्न गरेको हो ।

पुल निर्माणसँगै सडक विस्तार हुने भएपछि बन्जरीया, पथरैयाका सर्वसाधारणलाई आवतजावसँगै सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी बताउँछन् । पालिकासँग भएको सम्झौता अनुसार २०८१ असार १५ गतेभित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा ६ महिना अगाडि नै ३९ लाख ५४ हजार २ सय ६८ रुपैँया १८ पैसामा कुल लागत अनुमान गरिएकोमा ३० लाख ८ हजार ९ सय ५४ रुपैँया ४२ पैसामा निरौला बिल्डर्सले कबोल गरी पुल निर्माणको काम सम्पन्न गरेको हो । पालिका र निरौला बिल्डर्स बीच २०८० जेठ ३ गते सम्झौता भइ गएको पुसको पहिलो साताबाट काम सुरु भएको थियो ।पुलको लम्बाई ९ मिटर र चौडाई ६ मिटर रहेको छ । गेरुवा गाउँपालिकाका सव इन्जिनियर एवं साइड इन्चार्ज गणेशमान चौधरीले स्थानीय ठेकेदारले निर्माणको जिम्मा पाउँदा अधिकांश योजनाहरु समय अगावै निर्माण सम्पन्न हुने गरेको गेरुवा अपडेटलाई बताउनुभयो ।

यता गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले गेरुवामा विकास निर्माणका योजनाहरुमा निर्माण कम्पनीले समय अगावै सम्पन्न गरेर देखाउँदा आफुहरुमा उर्जा प्राप्त हुने गरेको बताउनुभयो । ‘समृद्ध गेरूवा गाउँपालिका निर्माणको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारा बोकेको पालिकामा निर्माण कार्यमा ढिलाई गर्ने निर्माण कम्पनीलाई झकझकाउने काम भइरहेको र समयमै सम्पन्न गर्ने निर्माण कम्पनीलाई सहज वातावरण निर्माण गर्न कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत चन्दले गेरुवा अपडेटलाई बताउनुभयो ।

यस्तै गेरुवा गाउँपालिका वडा नं. ४ गिदुरपुर स्थित चारगाँउ कुलोमा गेरुवा निर्माण सेवाले समेत ६ महिना अगावै करिब ३९ लाख रुपैँया लागतमा पक्की पुल निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

Back to top button