गेरुवामा ७ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खाेप लगाइने

पशुपतिनगर । बर्दियाको गेरुवा गाउँपालिकामा ७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । ९ महिनादेखि १५ वर्षमुनिका करिब ७ हजार ९७३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

गेरुवा गाउँपालिकामा एकै चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नायारण भण्डारीले जानकारी दिनुभयो । उहाँले ५ बर्ष मुनिका बालबालिकाहरु दादुरा–रुबेलाविरुद्धको खोप लगाउने समयमा अनिवार्य खोप कार्ड साथमा ल्याएर आउन अनुरोध गर्नुभयो ।स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार आगामी फागुन १३ गते देखि १८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अभियान सुरु गर्नुअघि पालिकामा विभिन्न सरोकारवालासँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम हुने जनाइएको छ । दादुरा–रुबेला खोप गेरुवामा ३५ वटा खोप केन्द्रमा लगाइने छ।

गेरुवा गाउँपालिकाको आयोजनामा दादुरा–रुबेला खोप अभियान अन्तरगत सोमबार सम्पन्न भएको पालिका स्तरीय अभिमुखिकरण योजना गोष्ठी कार्यक्रममा दादुरा–रुबेला खोप अभियान सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको बताइएको छ ।कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द, २ का वडा अध्यक्ष कृष्ण थारु, ३ का वडा अध्यक्ष निर्मल चौधरी, ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी, ५ का वडा अध्यक्ष धर्म प्रकाश थारु, ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी, गेरुवाका मावि विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

Back to top button