उत्कृष्ट विद्यार्थीलाइृ भैँसी पुरस्कार !

भैरहवा । कुनै विद्यालयले श्रेणीका आधारमा विद्यार्थीलाई नगद पुरस्कारसहित पदक दिन्छन् भन्दा हामी कसैलाई अनौठो नलाग्ला । तर, रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेको एक विद्यालयले विद्यार्थीलाई उत्कृष्टताका आधारमा भैंसी पुरस्कार दिने गरेको छ । विद्यार्थीले पाएको भैंसीबाट भएको आम्दानीले पढाइ खर्च टरेको छ।

सञ्जय लोध, श्री सुण्डी माध्यमिक विद्यालयमा कक्षा नौ मा पढ्छन्। खेती किसानीबाट जेनतेन घरको गुजारा टर्ने लोधको परिवारलाई छोराको पढाई खर्च जुटाउन धौधौ थियो । यस्तो मुस्किल परिस्थितिमा छोराले पुरस्कार बापत भैंसी ल्याए पछि परिवारमा हर्ष थपिएको छ । रुपन्देहीको दक्षिणी भेगका अधिकांश परिवारको जीविकाको माध्यम हो, कृषि तथा पशुपन्छी। प्राय गरिब गुरुवाका छोराछोरी पढ्ने यस विद्यालयमा गरिबीकै कारण धेरैले बीचमै विद्यालय छोडेका छन् ।

विद्यार्थीको मनोबल पनि बढ्ने तथा परिवारको आय स्तरमा समेत मद्दत मिल्ने भएपछि विद्यालयले पुरस्कारबापत भैंसी दिन थालेको हो । अध्ययनलाई बेवास्ता गरेका विद्यार्थीहरूलाई समेत भैंसी पाउने अभिलाषाले पढ़ने प्रेरणा थपेको छ। विद्यालयले आयोजना गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भैंसी पुरस्कार दिइएको हो। पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा सात सय ३२ जना विद्यार्थी सहभागी थिए।

हरेक समूहबाट सात-सातजनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैंसी तथा अन्यले नगद पुरस्कार पाए। हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै विद्यालयले भैंसी पुरस्कार दिने गरेको छ। प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा ३१ जनाले भैंसी पाइसके। दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले पुरस्कारबापत सहयोग रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

Back to top button