बजारमा तरकारी बिक्री गर्ने जनप्रतिनिधि

गजेन्द्र गुरुङ, खजुरा, माघ २० गते । बर्दियाको बढैयाताल गाउँपालिका–३ का एक जना जनप्रतिनिधिले दैनिक रूपमा बर्दियाबाट नेपालगन्ज ल्याएर अर्गानिक तरकारी विक्री गर्दै आउनुभएको छ ।

बढैयाताल गाउँपालिका–३ का महिला वडा सदस्य दुसानी थारुले हरेक दिन एकाबिहानै नेपालगन्जको सडकमा तरकारी ल्याएर विक्री गर्दै आएको वर्षौँ भयो । महिला उद्यमी तथा वडा सदस्य दुसानी थारुले वर्षौँदेखि आफूले कृषि पेसा व्यवसाय गर्दैआएको बताउनुभयो ।

आफूले उत्पादन गरेका ताजा अर्गानिक तरकारी नेपालगन्जमा ल्याएर बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । “म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १०–१२ वर्षदेखि हरेक दिन बिहान आफूले उत्पादन गरेका अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर विक्री गर्छु” दुसानीले भन्नुभयो, “गत स्थानीय चुनावमा मलाई महिला सदस्यको टिकट मिल्यो, सबैले उठ्न आग्रह गर्नुभयो, सबै पार्टीका मानिसले मलाई सहयोग गर्नुभयो र मैले चुनाव जितेँ ।”

आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै उहाँले बिहानभरी नेपालगन्जमा तरकारी विक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताउनुभयो । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म जाने गरेको र अहिले गाडीमा राखेर ल्याइने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले गाउँका अन्य महिला किसानहरू हामीसँगै थपिनुभएको छ, बिहान २–३ बजेतिर ४–५ जना साथी मिलेर म्याजिक गाडी रिजर्भ गर्छौँ र गाडीमा तरकारी लिएर बिहानै नेपालगन्जको सडकमा पुग्छौँ ।”

तरकारी नेपालगन्जसम्म ल्याएर धम्बोझीस्थित सिटिजन बैङ्कको अगाडि सडकको किनारामा लगाउने गरेको उहाँले बताउनुभयो । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि भने नगर प्रहरीले लखेट्ने गरेको उहाँको गुनासो छ ।

“नेपालगन्जको सडकमा यसरी तरकारी राखेर बेच्न थालेको तीन वर्ष भयो, छुट्टै ठाउँ छैन बिहान ९ बजेपछि नगर प्रहरी आएर बेच्न दिन्न, लखेट्छ” उहाँले भन्नुभयो, “भारतबाट ल्याएर तरकारी बेच्नेहरूका लागि सम्बन्धित सरोकारवालाले विभिन्न स्थानमा निश्चित ठाउँ बनाइदिएको छ, तर हामीले गोबर मलबाट उत्पादन गरेका अर्गानिक तरकारी बेच्ने ठाउँ छैन, हामीलाई पनि निश्चित ठाउँ तोकिदिनुपर्छ ।”

१५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तुहरू उत्पादन गर्दैआएको उहाँले बताउनुभयो । नेपालगन्जमा अर्गानिक तरकारी खाने बानी परेका ग्राहक सधैँ आफूलाई कुरेर बस्नेगरेको उहाँले बताउनुभयो ।

“मैले गोबरमल मात्र प्रयोग गरेर ताजा विषादीरहित तरकारी उत्पादन गर्छु, ग्राहकको स्वास्थ्यप्रति म सचेत छु । मेरा ग्राहकले सधैँ मसँग तरकारी किन्नुहुन्छ” उहाँले भन्नुभयो, “स्वदेशमै स्वस्थकर तरकारी उत्पादन तथा विक्री गरेमा हामी सबैको स्वास्थ्य ठिक रहन्छ ।”

तरकारी विक्रीबाटै आफूले पाँच जनाको परिवार पालिरहेको उहाँले बताउनुभयो । “देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरेकी छु” उहाँले भन्नुभयो, “सानोतिनो लगानी गरेर दुःख गरेमा यहीँ पैसा कमाउन सकिन्छ, विदेश गएर दुःख पाउनु पर्दैन । तर नेपालमा काम गर्न लाज मान्ने संस्कारले हामी पछि परेका छौँ ।”

तरकारी बेचेरै कमाएको पैसाबाट केही जग्गाजमिन जोडेको र छोरालाई जापानसमेत पठाएको उहाँले बताउनुभयो । “मेरो घरमा कमाई गर्ने म मात्र हो, तरकारीकै आम्दानीबाट केही जग्गाजमिन किनेकी छु, एउटा बैङ्कबाट ५ लाख रुपियाँ ऋण लिएर अरू आफ्नैबाट लगानी गरेर छोरालाई जापान पठाएकी हुँ ।”

सरकारले आफूजस्ता साना किसानका लागि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र विक्री वितरणका लागि अलग्गै स्थान बनाइदिनुपर्ने उहाँले माग गर्नुभयो ।

नेपालगन्जको धम्बोझीस्थित सिटिजन बैङ्कको अगाडि सडकमा दुसानी थारुजस्ता धेरै कृषक बाँके र बर्दियाबाट एका बिहानै तरकारी ल्याएर बेच्नुहुन्छ । स्थानीय सरकारले यसका लागि अलग्गै ठाउँ बनाइदिनुपर्ने उहाँहरूको माग छ ।

Back to top button