दुबई जाने तयारीमा रहेका योगी राजधानी पुग्न नपाउँदै अस्ताए !

गेरुवा । बैदेशिक रोजगारीको लागि दुबई जाने तयारीमा रहेका गेरुवा गाउँपालिका वडा नं. १ बिहानीबजारका ३६ बर्षिय भिमनाथ योगी राजधानी पुग्न नपाउँदै बाटोमै अस्ताए छन । बर्दियाको गेरुवाबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै भएको दुर्घटना उनको मृत्यु भएको हो ।

लामो समय गेरुवा र राजापुर क्षेत्रमा एनसिएलको मार्केटिङ काम गर्दै आउनुभएका उहाँ पछिल्लो समय बिदेश जाने सोच बनाउनुभएको थियो । दैलेखबाट बसाईसराई गरी बर्दियाको गेरुवा झर्नुभएको योगी दुबईको लागि भिसा लगाउन राजधानी जाने क्रममा दुर्घटनामा पर्नु भएको हो ।

थापापुर काउण्टरबाट भिआईपी सिटको टिकट काटेका योगी क्याविन सिटमा बसेर यात्रा गरिरहेको थिए । छाेटाे समयमानै साथीहरुसँग नजिक हुने र सहयाेगी स्वभावका याेगी कसैलाइ सिट दिएर आफु क्याविनमा बसेकाे हुन सक्ने बताइएकाे छ । मृत्यु हुने दुबै जना क्याविन सिटमा बसेका यात्रु रहेको बताइएको छ । साे बसमा शान्तिबजार क्षेत्रबाट ९ जना यात्रु सवार रहेका थिए ।

एनसियलको मार्केटिङ गर्दा धेरै सँग नजिक हुन पुगेका योगीको दुर्घटनामा निधन भएपछि गेरुवा शोकमग्न बनेको छ । योगीका ४ र १२ बर्षिया गरी २ छोरी छन भने एक बर्षिय एक छोरा रहेका छन ।

मृत्यु हुनेमा योगीसँगै मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् । बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button