महोत्सवमा विद्यार्थीलाई ५० प्रतिशत छुट गर्न अनेरास्ववियु गेरुवाको माग

शान्तिबजार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गेरुवा गाउँकमिटीले गेरुवामा संचालन हुन लागेको महोत्सवमा विद्यार्थीलाई ५० प्रतिशत छुटको माग गरेको छ । आइतबार गेरुवा उद्योण वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीलाई अनेरास्ववियु गेरुवा कमिटीले कार्यकक्षमै भेटेर विद्यार्थीलाई महोत्सवमा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग समितको विज्ञप्ती बुझाएको हो ।

अनेरास्ववियु गेरुवा गाउँकमिटीका अध्यक्ष दिनेश अयडी, उपाध्यक्ष हेमन्त रावत लगायतको टोलीले विज्ञप्ती बुझाउदै विद्यार्थीलाई महोत्सवमा सहभागि हुन सहज वातावरण सृजना गर्न अनुरोध गरेको हो । विज्ञप्ती बुझ्दै गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीले आफुहरु यसमा सकरात्मक भएको बताउँदै विद्यार्थीलाई छुटको व्यवस्था हुनुपर्ने आफुहरुको पहिलेनै मानसिकता बनिसकेको बताउनुभयो ।

उहाँले उद्योग वाणिज्य संघको कार्यसमितिको बैठक बसेर विद्यार्थीहरुलाई महोत्सवमा सहभागि हुन सक्दो सहज वातावरण सृजना गर्न तर्फ लागिपर्ने उल्लेख गर्नुभयो ।

विज्ञप्तीमा अनेरास्ववियु, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय जनजीविका, विद्यार्थी हकहित र अधिकार प्राप्तिका निम्ति निरन्तर संघर्ष गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिवद्ध देशकै सर्वाधिक शक्तिशाली संगठन भएको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा व्याप्त विकृति, विसंगति, माफियाकरण, व्यापारीकरण, चर्को मुल्यवृद्धि र कालोबजारीको बिरुद्ध सदैव आन्दोलनको अग्रमोचीमा रहदै आएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा यही पौष २७ गते देखि माघ ०९ गते सम्म गेरुवामा दोस्रो गेरुवा औद्योगिक व्यापार मेला तथा सांस्कृतिक महोत्सव–२०८०, लाई सफलताको हार्दिक शुभकामना व्यक्त समेत गरिएको छ । ‘विगतमा अनेरास्ववियुको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त विद्यार्थीहरुले पाउने मनोरञ्जनका क्षेत्रमा ५०% छुट सुबिधाको व्यवस्था रहेको सबैमा अवगत नै छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ यस महोत्सवको हरेक मनोरञ्जनात्मक क्षेत्रमा पनि विद्यार्थीहरुलाई ५०% छुट लागू गर्न अनेरास्ववियु नगर कमिटी जोडदार माग गर्दछ ।’ हेर्नुहाेस् विज्ञप्ती

Back to top button