नेपाल इन्भेष्टमेण्ट मेगा बैंक गेरुवा शाखाद्वारा एक प्रिय विद्यालयमा ‘वित्तिय साक्षरता’ कार्यक्रम सम्पन्न

पाताभार । गेरुवा गाउँपालिका वडा नं. ५ पशुपतिनगरमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा कार्यालयले ‘वित्तिय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । शाखाले एक प्रिय राठौंर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम बिहिबार सम्पन्न गरेको हो ।

कार्यक्रमको सहजिकरण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका गेरुवा शाखा प्रमुख भुपेन्द्र विसीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गर्दै प्रमुख विसीले बचत, बचत परिचालन र लगानी, विभिन्न कर्जा, डिजिटल बैंकिङ्ग र यसबाट हुने संभावित जोखिम न्यूनिकरणका उपायहरुको चर्चा गर्नुको साथै नेपालमा भएका बैंक तथा वित्तिय संस्थाको वर्गिकरण र यिनका कार्यहरु जस्ता महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमता अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँने भएकोले वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमता अभिबृद्धि गर्ने उल्लेख गनुभयो ।

‘यो शिक्षा समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ ।’ शाखा प्रमुख विसीले भन्नुभयो, ‘वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलिका कर्णधार आजका बाल–बालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धी आम्दानी, खर्च र बचतका असल संस्कार, बानी ब्यहोरा, आचरण सिकाउन थालेमा भोलिका दिनमा उनीहरूबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउन सक्छ ।’

कार्यक्रममा सहभागि विद्यार्थीहरुले वित्तिय साक्षरता सम्बन्धि ज्ञान प्राप्त गर्न पाउँदा हर्षित बनेका छन । विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर कहिलेकाही व्यवहारीक सिकाईका कार्यक्रमहरुमा सहभागि हुन पाउँदा थप ज्ञान प्राप्त हुने बताएका छन ।

बैंकको गेरुवा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत यस अघि समेत विभिन्न कार्यक्रम संचालन गर्ने गरेको र आगामी दिनहरुमा पनि यस खालका कार्यक्रमको आयोजना गर्ने लक्ष्य रहेको प्रबन्धक विसीले बताउनुभएको छ ।

Back to top button