समुदायमा विभिन्न घटना न्यूनिकरणका लागि गेरुवामा बरघरहरुसँग अन्तरक्रिया

गेरुवा । चाडपर्वको समयमा समुदायमा कुनै पनि अप्रिय घटनाहरु नघटोस भन्दै इलाका प्रहरी कार्यालय पाताभारको समन्वयमा बुधबार गेरुवामा बरघरहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र पाताभारको आयोजनामा गेरुवा ३ वडा कार्यालयमा सम्पन्न भएको समुदायमा विभिन्न घटना न्यूनिकरणका लागि बरघरहरुको भूमिका विषयक अन्तरक्रियामा तिहारलाई लक्षित गर्दै छलफल भएको थियो ।

चाडपर्वको बेला हुन सक्ने घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय पाताभारले विभिन्न कार्यक्रम गर्दै आएको छ भने सामुदायिक प्रहरी सेवा केन्द्रले त्यसलाई सहयोग गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका सभापति टेकराज नेगीले समुदायमा विभिन्न घटना न्यूनिकरणका लागि बरघरहरुको भूमिका उल्लेखनिय हुने बताउँदै बरघरहरुको सक्रियतामा घट्न सक्ने विभिन्न घटनाहरु न्यूनिकरण हुने बताउनुभयो । कार्यक्रममा गेरुवाका ६ वटै वडाका बरघरहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बोल्दै बरघर समिति गेरुवाका अध्यक्ष ज्ञान बहादुर गिरीले आफुहरु सदैव समाजलाई सकरात्मक बाटोमा डोर्याउन लागि परेको बताउनुभयो । उहाँले देउसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सचालन गर्न दिने निर्णयलाई कार्यान्वयन गर्न तर्फ आफुहरु समेत लागिपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पाताभारका पुर्व अध्यक्ष प्रेम बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी सहायक निरीक्षक लालकुमारी घर्ति, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सचिव हर्ष सिह ठकुरी लगायतको सहभागिता रहको थियो । कार्यक्रममा स्वागत मनतव्य प्रहरी सेवा केन्द्रका सचिव गोकुल कुमार कठायतले राख्नुभएको थियो ।

Back to top button