एक घण्टाको लागि बन्दना थारुले गेरुवाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि

गेरुवा l एक घण्टाको लागि बन्दना थारु गेरुवा गाउँपालिकाको अध्यक्ष बन्नुभएको छ । गेरुवा गाउँपालिका वडा नं ३ की १६ बर्षिया किशोरी थारुले एक घण्टा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो । बिहीबार गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिह केसीले आफ्नो पदभार एक घण्टाको लागि एकप्रिय राठौर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पदभार ग्रहण गर्नुभएको थारुले गाउँपालिका अध्यक्ष केसीसँग आफुले गर्ने कार्य तथा जिम्मेवारीबारे जानकारी लिनुभएको थियो ।
एक घण्टाको अध्यक्ष हुनुभएकी थारुले गाउँपालिका मार्फत भईरहेका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित शाखाहरुलाई निर्देशनसमेत दिनुभयो ।

एक घण्टाको लागि अध्यक्ष पदको जिम्मेवारीमा रहनुभएकी थारुले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको थियो । अध्यक्ष थारुको निर्देशनलाई सम्बन्धित शाखाका प्रमुखहरुले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिह केसीले किशोरीलाई सशक्त महसुस गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यकासाथ मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा बीग्रुप र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बालविवाह न्यूनिकरण परियोजना सञ्चालित रहेको वि–ग्रुपका सुपरभाईजर ज्ञान बहादुर चौधरीले बताउनुभयो ।

बालबालिकाहरूलाई शशक्तिकरण गराउने, बालिकाहरुको गुणस्तरीय शिक्षामा बालबालिकाको भुमिका निर्वाह गरि सहजिकरण गर्ने, रोजगारमा संलग्नता गराउन र बालबालिकाको प्रजनन् स्वास्थ्य अधिकार उद्देश्यकासाथ गठन गरिएको ‘परिवर्तनका सम्भाहकहरु’ मार्फत विभिन्न कार्यहरु भईरहेको सुपरभाईजर चौधरीले बताउनुभयो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

Back to top button