गाेबिन्दपुरमा दाउने तयारीमा रहेको धानको कुन्युमा आगलागी

गाेबिन्दपुर । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गाेबिन्दपुरमा दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ । स्थानीय फरारु प्रसाद थारुले बटैयामा लगाउनुभएको १ विगाहा क्षेत्रफलमा गरिएको धान खेतीको कुन्युमा आगलागी भएको हो । गयराति अन्दाजी १२/१ बजेतिर धानको कुन्युमा आगलागी भएको हो ।

आगलागीबाट १ विगाहा क्षेत्रफलको आधा धानभन्दा बढी जलेर नष्ट भएको आगलागी पीडित थारुले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । स्थानीय राम कृष्ण थारुले रातीको समयमा उल्टनपुरबाट धान दायर गोविन्दपुर फर्कदै गर्दा धानको कुन्युमा आगलागी भएको देखेपछि थारुको परिवारलाई खबर गरी आगो निभाउन जुटेका थिए ।

घरको नजिकै रहेको धानको कुन्युमा आगलागी भएपछि मोटरको प्रयोगले आगो निभाउन सहयोग पुगेपछि परिवारलाई केही राहत मिलेको छ । धानको कुन्युमा एक ठाउँबाट मात्र नभई चारै तर्फबाट एकैपटक आगो दन्किएपछि आगलागी कोही कसैले लगाएको हुनसक्ने पीडित परिवारले आशंका गरको छ । आगलागी भएको स्थान झुण्डी स्कुलदेखि करिब ५ सय मिटर पूर्व जाने पक्की सडकको छेउमा पर्दछ ।

Back to top button