गेरुवा ग्रामिण जागरण संघद्वारा पालिका स्तरीय समिक्षा तथा परियोजना समापन बैठक

गेरुवा । गेरुवा ग्रामिण जागरण संघले पालिका स्तरीय समिक्षा तथा परियोजना समापन बैठक गेरुवामा सम्पन्न गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटल नेपसेन्टिकमा भएको कार्यक्रममा परियोजनाको उपलब्धीको बारेमा छलफल भएको थियो । गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंंग शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी रहनुभएको थियो ।

कार्यक्रममा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाका संयोजक सुरज अर्यालले यो परियोजनाबाट महिनावारी हुने किशोरीहरु विद्यालयमा महिनावारी भएको बेला घर जानुपर्ने वाध्यता हटेको, आराम कक्षमा गएर आराम गर्ने अभ्यास सुरु भएको, महिनावारीको बेलामा आवश्यक प्याडको व्यवस्थापन महिनावारी क्लवले गरेको बताउनुभयो ।

त्यस्तै आवश्यक परेमा पुरुष शिक्षकसंग सहजरूपने प्याड माग्ने अभ्यास सुरुभएको, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा विद्यालयमा शिक्षकले विश्वासका साथ अध्ययन अध्यापन गराउन सक्ने, किशोरकिशोरीहरुले स्वास्थ्य संस्था पनि किशोरकिशोरीमैत्री हुनु पर्छ भन्ने कुराको जानकारी, विद्यालय र स्वास्थ्य संस्था विच सेवा प्रदान गर्नका लागि सम्बन्ध स्थापना भएको लगायतका परियोजनाका उपलब्धीहरु भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले यो परियोजना सफल भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई पालिकाले सदैव सहयोग गर्ने उल्लेख गर्नुभयो । साथै उहाँले दोस्रो फेसमा समेत गेरुवा ग्रामिण जागरण संघलेनै यो परियोजना हातपादै कार्यक्रम संचालन गर्ने अवसर मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, स्वास्थ्य शाखामा कार्यरत पुष्प बहादुर विष्ट, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा हाल सम्म संचालन भएका क्रियाकलाप र त्यसमा खर्च भएको रकमको बारेमा जानकारी गराइएको थियो ।

Back to top button