गेरुवाकाे बाजपुर सामुदायिक वनमा गैंडा मृत फेला

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका वडा नं. ६ स्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी गैंडा मृत फेला परेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले शुक्रबार विहान उक्त कुराको जानकारी दिनुभएको हो। निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैंडा मृत फेला परेको उहाँले जानकारी दिनुभयो ।

मृत्यु भएको पोथी गैंडासँग केटा (बच्चा) समेत रहेको छ । दुर्गम ठाउँ भएकोले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेका थिएनन् । बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । गाइ बस्तु चराउन आएका गोठालाहरुले मृत गैडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए । मृत गैंडाको पोष्टमार्टम त्यहीँ गरिने निकुञ्ज प्रशासनले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

Back to top button