रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान

काठमाडौँ l रोजीरोटीका लागि बिदेसिएका दाङका शरदलाल चौधरीले ३६ वर्षको उमेरमै ज्यान गुमाएका छन्। उनी घरपरिवार र आफ्ना लागि खुसी खोज्दै चार वर्षपहिले संयुक्त अबर इमिरेट्स (युएई) गएका थिए। देशमा रोजगारीको सुलभ अवसर नभएपछि बिदेसिएका चौधरीले विदेशमा परिश्रम गरेर घरको छानो टालेसँगै परिवारको खुसीका लागि आर्थिक भार पनि थामिरहेका थिए। चौधरीकी पत्नी सियानीका अनुसार शरदलाल युएईमा सरसफाइको काम गर्थे।

गत साउन १ गते युएईमा चौधरीको छाती दुखाइपछि मृत्यु भएको थियो। ‘उहाँको फोन आउँथ्यो, सधैं बेलुका घरपरिवारसँग बोल्नु हुन्थ्यो। तिमीहरू कसरी बसेका छौ ? खर्च पुगेको छ की छैन। छोरोहरूको पढाइ के भइइहको छ। राम्रो पढ्न भन्नु है भन्नुहुन्थ्यो,’ सियानीले भनिन्।

पतिले अन्तिम समयमा भनेका कुरा उनी सम्झिन्छन्, ‘धेरै छटपटी भएको छ। हिजो मात्र अस्पतालमा चेकअप पछि औषधि खाएको त्यसले केही काम गरेन। भोलि बिहानै जान्छु फेरि डाक्टरकोमा यो छाती देखाउन। के भाको हो ? आजको रात कटाउन पाए हुन्थ्यो।’

त्यो रात कटाउने कोसिस गर्दागर्दै चौधरीले जीवनसँग हारे। उनले बिहानको झुल्केघाम पनि देख्न पाएनन्। त्यसयता चौधरी परिवारमा औंशीको रात छाएको छ।

पतिको मृत्यु वियोगमा सियानी दुब्लाउँदै गएकी छिन्। उनी दुई छोराका छायामा श्रीमान देख्न सक्दिनन्। त्यस्तो बृहत् माया उनले श्रीमानबाट पाएकी थिइन्। चौधरी परिवारमा शरदलालको सम्झना मात्र रहेको छ। चौधरी परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता सात लाख पाउने भएका छन्।

त्यस्तै वैदेशिक रोजगारीले गर्दा अर्का एक परिवारमा पनि विपद् छाएको छ। कमाउनकै लागि बिदेसिएका स्याङ्जाका घनबहादुर विश्वकर्माले पनि अकालमै ज्यान गुमाए। ३० वर्षका विश्वकर्माको साउदी अरब गएको ११ महिनामै मृत्यु भएको थियो। गत असार १४ गते वश्वकर्माले आत्महत्या गरेका थिए। घरको ऋण तिर्न विश्वकर्मा बिदेसिएका थिए तर त्यसो हुन पाएन। आमाबाबु, दुई भाइलगायत आफ्नै चार परिवार जिम्मामा रहेका उनले विदेशमा कामको अवस्था र ऋणको भार थेग्न नसकेर मृत्युको बाटो रोजेको अनुमान परिवारजनको छ। उनको आत्महत्या भएको अभिलेख बोर्डमा पनि आइपुगेको छ।

विश्वकर्माका कान्छा भाइ भन्छन्, ‘हामी तीन दाजुभाइमा सबैभन्दा असल घन दाइ थिए। परिवार सबैको रेखदेख उनैले गरेका थिए। जेठो दाइ विदेश गएको केही महिनामा नै माइलो दाईको स्वदेशमा नै दुवै मृगौला फेल भए। घरको छानो टाल्न हिँडेका दाइलाई विदेशी चालचलन र माइलो दाइको अर्को तनाबले पनि छोप्यो।’

‘घरपरिवारलाई उहाँको खाँचो थियो। सानै बेलाबाट हाम्रो आवश्यकता पूरा गर्दै आएका दाजुको मनमा के त्यस्तो पीडा रहेछ, हामीले कहिल्यै बुझ्नै सकेका रहेनछौं। भतिजी ५ वर्षकी भइन् भने भतिजा साढे दुई वर्षको हँुदछ। तिनीहरूको विचल्ली हुने भयो,’ घरबहादुरका भाइले भने। दिनप्रतिदिन वैदेशिक रोजगारीमा गएका नेपाली मृत्यु संख्या संख्या हरेक वर्ष थपिँदो छ। मेडिकलमा विभिन्न चरण पार परेर जाने स्वस्थ नेपालीको विदेशमा किन मृत्यु हुन्छ भन्नेबारे खासै अध्ययन नभएको बोर्डका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार बोर्डको स्थापना भएको २०६४ सालदेखि आजसम्म वैदेशिक रोजगारीमा गएका १२ हजार सात सय ७३ जना कामदारको मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र अंगभंग हुने दर पनि बढ्दै गएको पाइन्छ। बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको अभिलेखमा उल्लेख छ।

वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। बिरामी, सडक दुर्घटनामा, आत्महत्या गरेको तथ्यांक डरलाग्दो रहेको वैदेशिक रोजगार बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी ज्यान गुमाउनुपरेको छ। मलेसिया, साउदी अरेबिया र कतारमा बिरामी तथा अंगभंग र मृत्यु हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार, मलेसियामा आपसी झगडाका कारणले पनि नेपालीको मृत्यु हुने गरेको छ।

‘खाडीमुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेहरूको संख्या पनि उस्तै छ। त्यहाँको उच्च तापक्रम र काम गराइ नमिल्नु हो। यस अतिरिक्त परिवर्तित वातावरणमा उनीहरूको जीवनशैली नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि अर्को कारण हो,’ शाखा अधिकृत चन्दले भने।

सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान एक सय ११ मुलुक खुला गरेको छ। व्यक्तिगत रूपमा भने एक सय ७८ मुलुकमा नेपाली युवा काम गर्न जाने गरेका छन् तर अधिकांश युवा खाडी तथा मलेसियामा केन्द्रित भएको देखिन्छ। तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये खाडी र मलेसियामा जानेको संख्या उच्च छ।

वैदेशिक रोजगारीका लागि धेरैजसो अदक्ष कामदार विदेश जाने गरेको बोर्डका शाखा अधिकृत चन्दले बताए। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु भएपछि सन्तानलाई छात्रवृत्ति र अंगभंगमा अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। विदेशमा कामदारको मृत्यु भए बोर्डले सात लाख रूपैयाँ दिने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

Back to top button