गेरुवा गाउँपालिका वडा नं. ५ द्वारा १२ वटै टोलमा बाल विवाह विरुद्ध सचेतना अभियान

पथरैया । गेरुवा गाउँपालिका वडा नं. ५ को आयोजनामा बाल विवाह विरुद्ध सचेतना अभियान कार्यक्रम ५ नं. वडाका १२ वटै टोलहरुमा सोमबार सम्पन्न भएको छ । समुदाय स्तरमा बाल विवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम बुधबार देखि अभियानको रुपमा सुरु गरिएको थियो ।

बि–ग्रुप, कमैया महिला जागरण समाज, वेस बर्दियाको सहजिकरणमा गेरुवा गाउँपालिका वडा नं. ५ मा बाल विवाह, लागु औषध दुव्यसन लगायतका विषयलाई अभियानको रुपमा संचालन गरिएको थियो । गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरीले बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा बाल विवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले वाल विवाह गर्दा शारीरिक तथा मानसिक रोगको शिकार हुने, बालविवाह पछि स्वास्थ्य र शिक्षाको अधिकार समेत गुम्ने, कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुनुका साथै अपाङ्ग भएका सन्तान जन्मन सक्ने, विवाहपछि बालवालिकाको पढाइ बिग्रने, बिरामी हुने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने, बालबालिकाको मानसिक शक्तिको विकास हुनबाट वञ्चित हुने जस्ता समस्या देखिने भएकोले वाल विवाह विरुद्धको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।

‘विभिन्न कारणहरूले बाल विवाह बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरूले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाहहरू अत्याधिक रहेको छ ।’ वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘बालविवाह अन्त्य हुनु भनेको गेरुवाको मात्र नभई समग्र राष्ट्रको गौरवको कुरा हो ।’

पालिकामा समस्याको रूपमा देखिएको बाल विवाह अन्त्यको लागि सचेतना अभियान सञ्चालन गर्ने वडाले निर्णय गरेसँगै गेरुवा गाउँपालिका वडा नं. ५ का सरोकारवाला, प्रहरी, विद्यार्थी, शिक्षक, बडघर, महिला स्वास्थ्य स्वयम सेविका लगायतको सहभागितामा अभियान संचालन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले बाल विवाह अन्त्यको लागि स्थानीय समुदाय र विद्यालय केन्द्रीत अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा सहभागीहरूले आफू सहभागी हुने सबै किसिमका कार्यक्रमहरूका थोरै भएपनि बाल विवाहको बारेमा जानकारी दिने र कार्यक्रमहरूमा बाल विवाहसम्बन्धी विषयलाई समेत समेट्ने बताएका छन ।

कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभियानमा मुख्य प्राथमिकतामा राखिएको बि–ग्रुपका सुपरभाईजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । उहाँले परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाह अत्याधिक रहेको भन्दै बस्ती स्तरमा नै पुगेर उनीहरुलाई सचेत बनाइएको बताउनुभयो । फाेटाे फिचर

Back to top button