मनै लोभ्याउने जुम्लाको शंकर झरना

जुम्ला l घना जंगलको बीचमा रहेको जुम्लाको सबैभन्दा अग्लो मनमोहक शंकर झरना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।  प्राकृतिक रूपमा मनोरम रहेको यो झरना सूचीकृतसमेत भएको छैन । यसको उचाइ पनि मापन भएको छैन । झरनाको उचाई हेर्दा करिब डेढ सय मिटर अग्लो अनुमान गर्न सकिन्छ ।

माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयवासीले यसलाई प्रकृतिको सुन्दर उपहारको रूपमा लिने गरेका छन् । पातारासी गाउँपालिका–२ पेरेगाउँको छडा पहाडको खोँचमा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यो झरनालाई अझै धेरैतिर चिनाउन सके आम्दानीको राम्रो स्रोत बन्ने देखिन्छ ।

यस क्षेत्रको मुख्य पेसा पशुपालन र कृषि हो । वन जंगलबाट विभिन्न किसिमका जडीबुटीको संकलन र व्यापार गरी यस क्षेत्रका जनताले आम्दानीको स्रोत बनाउने गरेका छन् । यस वडामा हिन्दू र बौद्ध धर्मावलम्बीहरू मिलेर बसोवास गर्दै आएका छन् । यहाँ मुख्य बालीका रूपमा मकै, गहुँ, फापर, आलु, जौ, कोदो, सिमी लगाउने गरेको पाइन्छ ।

खलंगादेखि डेढ घन्टा मोटरबाटो पार गरेपछि पेरेगाउँको भित्र जवा नदीको किनारमा पुगिन्छ । त्यसपछि ४५ मिनेट पैदल यात्रामा शंकर झरना पुगिन्छ । माथि पातारासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, त्यही नदीको किनारैकिनार हिँड्दै जाँदा हरियाली फाँट र घाँसेमैदान भेटिन्छ । यो झरना अवलोकन गर्न साउन र भदौ महिना अति उपयुक्त छ । चारैतिर हरियाली जंगल, पहाडको बीचमा सुन्दर झरना साँच्चै मनमोहक देखिन्छ ।

झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले विस्तृत परियोजना बनाउन आवश्यक देखिन्छ । झरनासम्म पुग्ने मोटरबाटो र पदमार्ग दुवै व्यवस्थापन गर्नुपर्ने देखिन्छ । पातारासी गाउँपालिकामा थुप्रै पर्यटकीय गन्तव्य छन् । पातारासीका प्रमुख पर्यटकीयस्थलमध्ये शंकर झरना पनि एक हो । विश्वकै उच्च स्थानमा (२८५० मिटर) मार्सी धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, बालीगाड ताल, देवस्थल, तालकोटा, तातोपानी कुण्ड धानचौरी पर्यटकलाई आकर्षण पार्ने केन्द्र हुन् । तर, यी पर्यटकीय क्षेत्र गुमनाम छन् ।

०४५ सालमा पूर्वराजा वीरेन्द्र शंकर झरना क्षेत्रमा सिकार खेल्न पुगेको इतिहास छ । पहाडको खोँचबाट झरेको शंकर झरनामा पहिले भेडी गोठाला, सिकारी र जडीबुटी संकलक मात्रै पुग्थे । अहिले आन्तरिक पर्यटक बाग्लै पुग्ने गरेका छन् । ग्रामीण पर्यटनलाई फराकिलो बनाउनसके मात्रै पातारासीका नागरिकको जीवनस्तर उकास्न सकिनेछ । तर, यस्ता पर्यटन गन्तव्यको कुनै पनि ठोस योजना बनेका छैनन् ।

पातारासी हिमालको बेसक्याम्पसम्म पुग्ने बाटो निर्माण गर्न सके र हिमाल आरोहणका लागि सरकारबाट आरोहण अनुमति लिन सके यस क्षेत्रको निकै राम्रो उन्नति हुने पर्यटन व्यवसायी सीप बुढा बताउँछन् । ‘पर्यटन क्षेत्रको वृद्धि विकासका लागि तीनै तहको सरकारले ध्यान दिनसकेको छैन । प्रकृतिले दिएको उपहार सदुपयोग गर्नु नसक्नु दुःखद पक्ष हो,’ व्यवसायी बुढा भन्छन्, ‘यो झरनालाई देश–विदेशमा चिनाउन सकिएको छैन ।

अन्य ठाउँमा रहेका यस्ता झरनाको संरक्षण गरेर स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आएको हामीले देखेका छौँ । यसलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्न सके यहाँ आएका पर्यटकलाई खान र बस्न दिएरै हामीले जीवनयापन गर्न सक्ने अवस्था बन्ने थियो । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।’

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार यो झरनाको पर्यटन प्रवद्र्धनका विषयमा अहिलेसम्म खासै कुनै योजना बनेको छैन । ‘यो झरना पछिल्लो केही समयदेखि चर्चामा आएको हो । पातारासीमा थुप्रै पर्यटकीय गन्तव्य छन् । शंकर झरना पनि यहाँको महत्वपूर्ण पर्यटन गन्तव्य हो, उनी भन्छिन्, ‘यो झरनाको प्रवद्र्धन र प्रचार–प्रसारका लागि गाउँ कार्यपालिकाको बैठकमा प्रमुख विषय बनाएर छलफल गर्नेछौँ । गाउँपालिकाको निर्णयअनुसार विस्तृत अध्ययन प्रतिवेदन बनाएर काम गर्नेछौँ ।’

Back to top button