‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गरिने–मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

ठाकुरद्वारा l लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जनजाति समुदायबाट उत्पादन हुने स्थानीय जातको मदिरा ‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गरिने बताउनुभएको छ ।

४४ औं विश्व पर्यटन दिवसका अवसरमा बर्दियाको ठाकुरद्वारामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशमा बढी पाइने कोदो, मौवा, अनदि, कुरिलोबाट उत्पादन हुने लोकल जातको मदिराको उत्पादन र बजारीकरण गर्नका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनुएको हो ।

लुम्बिनी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउँदै मुख्यमन्त्री चौधरीले धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपमा लुम्बिनी प्रदेश धनी भएको भन्दै यी क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

गतबर्ष २८ हजार पर्यटक भित्रिएकोमा यसबर्ष १ लाख पर्यटक भित्राउने लक्ष्यका साथ कार्ययोजना तयार गरि लुम्बिनी सरकार अघि बढ्ने उहाँको भनाई छ । बर्दिया जिल्ला बाघ लगायत अन्य वन्यजन्तु सहज अवलोकनका लागि उचित गन्तव्य भएको मुख्यमन्त्री चौधरीले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै संघीय सांसद लालविर चौधरी, लुम्बिनी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, प्रदेश सांसद जन्मजय तिमिल्सिना लगायतले जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नति हुने भएकोले प्रदेशको आर्थिक उन्नतिलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन ।

ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको ४४ औं विश्व पर्यटन दिवस कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा झल्किने गरि सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Back to top button